काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने 'खेलकुदसँग प्रधानमन्त्री' नामक अन्तरक्रिया कार्यक्रम आज हुँदैछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रम अपरान्ह १ बजे सुरु हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई खेलकुदसँग अन्तरक्रिया गराउने उद्धेश्यका साथ राखेपले कार्यक्रम गर्न लागेको हो ।
राखेप सदस्य सचिव रमेश सिलवालका अनुसार खेलकुदसँग प्रधानमन्त्रीलाई साक्षातकार गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएर खेलकर्मीले राखेका प्रश्नको जवाफ सहित सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी सहित विभिन्न खेलकर्मी उपस्थित रहनेछन् ।
कोरोना प्रभाव र परिवर्र्तित राजनीतिक समिकरणको असर खेल क्षेत्रमा समेत देखिएको छ । केही खेल प्रतियोगिता सञ्चालन भएपनि खेलकुदले आवश्यक गति लिन सकेको छैन । वर्तमान राजनीतिक टसलको सेरोफेरोमा राखेपले खेलकुदसंग प्रधानमन्त्री कार्यक्रम आयोजना गर्न लागेको हो ।
राखेप सदस्य सचिव रमेशकुमार सिलवाल प्रधानमन्त्री ओली निकट मानिन्छन् । केही साता अघिमात्र सिलवाल ओली समुहको नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका थिए ।