काठमाडौं । साफ फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको एउटा खराब ईतिहास छ । नेपालले साफमा अहिलेसम्म माल्दिभ्सलाई हराउन सकेको छैन् । साफमा दुई देश ६ पटक भिडेका छन् । दुई बराबरी र बाँकी खेल माल्दिभ्सले जितेको छ ।
अन्तिम पटक बंगबन्धु गोल्डकपमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो । समग्रमा नेपालले अहिलेसम्म माल्दिभ्ससँग १५ पटक भिडेको छ । ४ जित नेपालको नाममा छ । ७ खेलमा गुमाउदाँ ४ खेल बराबरीमा सकिएको छ । अर्को रोचक तथ्य नेपालले १९ गोल गरेको छ, २० गोल ब्यहोरेको छ ।
यि त भए, तथ्य र गणितका कुरा । वास्ताविकता यस्तो छ, नेपाल फेरी एक पटक माल्दिभ्ससंग भिड्दैछ । साफ च्याम्पियनसिपमा ।
प्रतियोगिताको फाईनल पुग्न नसकेको नेपालका लागि माल्दिभ्स फेरी एकपटक तगारो बनेर बसेको छ । माल्दिभ्सलाई हराउन सकेमा नेपालले साफ फुटबलमा एक इतिहास रच्नेछ । तर त्यसका लागि माल्दिभ्सलाई हराउनु पर्नेछ । गोल गर्नु पर्नेछ ।
माल्दिभ्सको प्रसंगसंगै एक नेपाली खेलाडीको नाम जबर्जस्त आउछ, ती हुन हरि खड्का । पुर्व कप्तान समेत गरेका राष्ट्रिय फुटबल टिमका पुर्व स्टारले माल्दिभ्सविरुद्ध नेपालका लागि सर्वाधिक गोल गरेका छन्, ४ गोल ।
यसपटक इतिहासको नजिक रहेको नेपाली टिमले माल्दिभ्सविरुद्ध कसरी खेल्नुपर्ला ?
माल्दिभ्सविरुद्ध नेपालका लागि सर्वाधिक गोल गरेका खड्कासंग गरिएको कुराकानीको सम्पादित अशं :
पाकिस्तानविरुद्धको खेललाई छाडेर नेपालले बढी गोल गरेको छ । माल्दिभ्स पहिलाको तुलनामा कमजोरी छ । अलि अस्फाकको समयको जस्तो माल्दिभ्स अहिले छैन । सन् १९९९ को साफ गेमबाट माल्दिभ्स टिमलाई एकदमै राम्रो देखिदै आएको छ । साफ च्याम्पियनसिपमा भारतपछिको बलियो टोली माल्दिभ्सनै हो ।
अहिलेको नेपालको खेल हेर्दा साउथ एसियामै सन्तुलिन, पुनरागमन गर्न सक्ने र उत्कृष्ट टोली देखिन्छ । आक्रमक वा डिफेन्स दुवै लाईनमा नेपाल बलियो छ । बंगलादेशमा ७ गोल गर्दा मात्र २ गोल खाएका छौ । त्यसले नेपाली टिम सन्तुलित देखाउछ ।
प्रशिक्षक बालगोपाल महर्जनले अहिले टिमलाई जुन रणनीति र विश्लेषण गरेर प्लेईङ सेट उतारेका छन्, त्यसले एकदमै राम्रो प्रभाव पारेको छ ।
राम्रो अध्ययन गरेर र आँकडा राखेर बनाए जस्तो लाग्छ । त्यही कारण नेपाल सफल भईरहेको छ । पहिलो खेलले हामीलाई सिकायो । त्यसपछि हामीले सफलता हात पार्दै आएका छौ ।
माल्दिभ्सविरुद्ध नेपालले आक्रमक फुटबल खेल्नपर्छ । किनकी नेपाली फुटबल भनेको आक्रमक फुटबल हो । विगतमा स्कोर गर्न चुकेपनि हामी अहिले राम्रो अवस्थामा छौ । हाम्रो फरवार्ड लाईन सुधारिएको छ । त्यसकारण नेपालले माल्दिभ्सविरुद्ध सोही आक्रमक खेल खेल्नपर्छ ।
माल्दिभ्स समेत पुरै समय रक्षात्मक खेलेर आक्रमक फुटबल खेल्न मन पराउछ । पाकिस्तानले जसरी हामीसंग खेल्यो र दुई गोल गर्यो । त्योबाट पाठ सिक्दै प्रशिक्षकले रणनीति बनाउन पर्छ । नेपालले काउन्टर अट्याकलाई रोकेर जुन आक्रमक खेल छ त्यसलाई निरन्तरता दिएमा नेपालको पक्षमा खेल निस्कन्छ ।