ढाका । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले माल्दिभ्ससंगको खेलको लागि नेपाली टोली तयार रहेको बताएका छन् ।
सेमिफाइनल खेलअघि मंगलबार प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान महर्जनले नेपाली टोलीमा आत्मविश्वास बढेको बताउदै टोली खेलमा लागि तयार रहेको बताए ।
कप्तान महर्जनले भने, 'हामीले तीन खेल खेल्यौ र त्यसमा सुधार हुँदै गईरहेको छ । सबैले राम्रो गरिरहेका छन् । यो हाम्रो लागि सकारात्मक कुरा हो । भोली (माल्दिभ्स) संगको खेलको लागि हामी सबै खेलाडीमा आत्मबल आएको छ । तर, हामी चाहिने भन्दा बढी आत्मविश्वासी भने हुनेछैनौं ।'
साफको सेमिफाइनलसम्म पुग्दा खेलाडीको मुहारमा समेत चमक आएको उल्लेख गर्दै कप्तान महर्जनले त्यो खुसी कायम राख्ने बताए ।
यस्तै कप्तान महर्जनले माल्दिभ्सविरुद्धको खेलमा जित निकाल्दै देश र फुटबल समर्थकहरुलाई खुसी दिलाउने बताए । 'खेल जितेर सम्पूर्ण फुटबल फ्यानलाई खुसी दिलाउने हाम्रो लक्ष्य हुनेछ,' कप्तान महर्जनले थपे ।
बंगबन्धु रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध नेपाली समयअनुसार पौने ४ बजे प्रतिस्पर्धा गर्दैछ । नेपालको लागि यस खेल ऐतिहासिक खेल समेत हुनेछ । नेपालले माल्दिभ्सलाई हराए नेपाल पहिलोपटक साफ फुटबलको फाइनलमा पुग्नेछ ।