ढाका । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्दै इतिहास रच्ने बताएका छन् ।
माल्दिभ्सविरुद्ध हुने सेमिफाइनल खेलअघि प्रि म्याच कन्फरेन्समा प्रशिक्षक महर्जनले बुधबार नेपालको लागि ऐतिहासिक दिन हुने बताए ।
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म नपुगेको उल्लेख गर्दै प्रशिक्षक महर्जनले भने, 'मेरो टिम, खेलाडीको ध्यान भोलिको सेमिफाइनल खेलमा छ । भोलि सारा नेपालीलाई खुसि दिलाउनेछौ । अहिलेसम्म हात पार्न नसकेको सफलता भोली हात पार्नेछौं ।'
साफको पहिलो सेमिफाइनलमा नेपालले बुधबार (भोलि) माल्दिभ्ससंग अपरान्ह प्रतिस्पर्धा गर्दैछ । नेपालले माल्दिभ्सलाई हराउन सके नेपाल पहिलोपटक साफको फाइनलमा पुग्नेछ । चार पटक सेमिफाइनलमा पुगेको नेपालको लागि यो ऐतिहासिक दिन हुनेछ ।
यस्तै साफ च्याम्पियनसिपको ६ भेटमा नेपालले माल्दिभ्सलाई हराउन सकेको छैन । तर, प्रशिक्षक महर्जनले इतिहास भन्दा पछिल्लो नतिजामा ध्यान दिने बताए । 'विगतको नतिजा के भयो, त्यसमा नजाउ । हामीले पछिल्लो दुई बर्षको नतिजामा ध्यान दिनुपर्छ,' महर्जनले थपे ।
नेपालले पछिल्लो पटक सन् २०१६ मा माल्दिभ्सलाई हराएको थियो । ढाकामै भएको बंगबन्धु गोल्डकपमा नेपालले माल्दिभ्सलाई ४ - १ ले हराएको थियो ।
यस्तै प्रशिक्षक महर्जनले माल्दिभ्सविरुद्ध जित निकाल्न आफुले रणनीति तयार गरिसकेको बताए । उनले भने, 'हामी अघिल्लो खेलमा जुन रणनीतिमा सफल भएका थियौं, भोली पनि त्यसैमा फोकस गर्नेछौं ।'