काठमाडौ । काठमाडौँ महानगरपालिकाले असोज १३ गतेदेखि सुरु हुने भनिएको ए डिभिजन लिग खेल्ने काठमाडौका ६ क्लबलाई प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष पहलमा महानगरले राष्ट्रिय सभागृहमा मंगलबार एक कार्यक्रमको आयोजना गरेर ए डिभिजन खेल्ने ६ क्लबसग प्रायोजन सम्झौता गरेको हो ।
महानगरले सम्झौता गरेका काठमाडौका ६ क्लबमा हिमायन शेर्पा, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र युवा क्लब, संकटा क्लब, सरस्वती क्लब र एनआरटी रहेका छन् ।
सम्झौता पत्रमा काठमाडौँ महानगरपालिकाका सामाजिक विकास विभागका प्रमुख नुरनीधि न्यौपाने र क्लबका अध्यक्षले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार काठमाडौंका क्लबहरुले ९ लाख ३० हजार नगद पाएका छन् । त्यस्तै क्लबले अब महानगरपालीकाबाट खेलकुदका सामाग्रीहरु प्राप्त गर्नेछन् ।
काठमाडौँका ६ क्लबहरुले असोज दोस्रो साताबाट सुरु हुने ए डिभिजन लिगमा महानगरपालिकाको लोगो अंकित जर्सी लगाउनु पर्नेछ ।
कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फुटबलको इतिहासमा सरकारी संयन्त्रबाट यस्तो कार्य पहिलो पटक भएको बताए । सम्झौता एउटा नमुना काम भएको उल्लेख गर्दै उनले महानगरपालिकाका सबै परिवारलाई धन्यबाद दिए ।
त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस कार्यक्रममा फुटबल खेलाडी अनि क्लबलाई खेलकुदमा प्रोत्साहन गर्ने उद्धेश्यले सहयोग गरेको बताए ।
यस्तै शाक्यले आफु स्वयम् फुटबल खेलाडी भएको र एन्फाको विशेष पहलमा क्लबलाई सहयोग गरेको बताए ।
मेयर शाक्यले काठमाडौंका ६ मध्ये एक क्लबले ए डिभिजन लिग जित्ने अपेक्षा व्यक्त गरे । काठमाडौंका क्लवले यसपटकको लिग जितेमा अझ प्रायोजन रकम बढ्ने उनको भनाई छ ।