ढाका । नेपाली राष्ट्रिय टोलीका सदस्य निराजन खड्काले बंगलादेशमा जारी साफ च्याम्पियनसिपको उपाधि जितेर देशको लागि गर्व महसुस गराउने चाहना भएको बताएका छन् ।
सेमिफाइनलमा माल्दिभ्सविरुद्ध खेल्नुअघि मिडफिल्डर निराजनले खेलाडीले खेल जित्न सतप्रतिशत मेहेनत गरिरहेको बताउदै उपाधि जित्ने बताए ।
'हामी खेलाडी, प्रशिक्षक अफिसियल सबैले आफ्नो ठाउबाट १०० प्रतिशत दिईरहेका छौं,' निराजनले भने, 'मलाई पूर्ण विश्वास छ । हामी मैदानमा गएर जति सक्छौ । रगत पसिना बगाएर देशलाई गर्व गराउने मौका दिनेछौं ।'
निराजनले नेपाली राष्ट्रिय टोलीमा साफबाट पुनरागमन गरेका हुन् । र, निराजनले जारी प्रतियोगितामा एक गोल समेत गरिसकेका छन् । उनले भुटानविरुद्ध ४ - ० को जितेमा एक गोल गरेका थिए ।
निराजनले माल्दिभ्स निकै उत्कृष्ट टोली रहेको भएपनि उनीहरुको कमी कमजोरीलाई केलाएर नेपालले जित निकाल्ने बताए । उनले हाल रहेको नेपाली टोलीको ड्रेसिङ रुम टिम कम्बिनेसन अहिलेसम्मकै उत्कृष्ट रहेको समेत बताए ।
यस्तै निराजनले यस प्रतियोगिता आफ्नो लागि बिर्सन नसकिने क्षण भएको बताए । उनले भने, 'मेरो लागि यो प्रतियोगिता बिर्सन नसक्ने क्षण भएको छ । म खुसी छु । तर, म व्यक्तिगत भन्दापनि टिमलाई महत्व दिन्छु । जोसुकै गोल गरोस् तर टिमले जितोस् भन्ने चाहन्छु ।'