नेपालगन्ज । कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ ।
बाँकेको कोहलपुरमा शनिबार आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै बिबी वारियर्स च्याम्पियन बनेको हो ।
कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो।
वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए । कोहलपुरका रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोहलपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो ।
उसका लागि सन्दीप नेपालीले सर्वाधिक अविजित ३१ रन, शेर बहादुर ओलीले १४ रन तथा रमेश सिंहले १० रन बनाए । बिबी वारियर्सका बिशाल पौडेलले सर्वाधिक ३ विकेट लिए । सिद्धान्त राज शाही, अमर सिंह रौटेला र आकाश बिस्टले समान २ विकेट लिए।
उपाधिसँगै बिबी वारियर्सले ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता टोलि कोहलपुरले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बिबी वारियर्सका कप्तान सिद्धान्त राज शाही चुनिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट बलर आकाश बिस्ट तथा ब्याट्सम्यान शुबेन्दु पाण्डे चुनिए । उनीहरुले जनही ५/५ हजार रुपैयाँ प्राप्त गरे ।