काठमाडौं । बाँकेको कोहलपुरमा जारि कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लब तथा बिबी वारियर्सले बिबीसीसी किर्तिपुरलाई पराजित गर्यो ।
पहिलो सेमिफाइनलमा आयोजक कोहलपुरले न्यु दर्पणलाई ४ विकेटले पराजित गर्यो ।
न्यु दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कोहलपुरका लागि विनायक गिरिले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए ।
न्यु दर्पणका बलर सिमोन थापा र दिपक राना मगरले समान २ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १३ ओभर ५ बलमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो ।
उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दिप राना मगरले १२ रन बनाए । कोहलपुरका रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २ विकेट तथा अजय शहानिले १ विकेट लिए ।
दोस्रो सेमिफाइनलमा बिबि वारियर्सले बिबिसीसी किर्तिपुरलाई ३१ रनले पराजित गर्यो ।
बिबि वारियर्सले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा बिबीसीसी किर्तिपुरले १५ ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।
उसका लागि सन्दिप कुँवरले सर्वाधिक २२, निरज सिंह धामीले १५, किशन बिस्टले, सौरभ बमले १२ तथा दिपक बोहराले १० रन बनाए।
बिबि वारियर्सका बलर आकाश बिस्टले सर्वाधिक ३ विकेट लिए भने सिद्धान्त राज शाही र बिशाल पौडेलले समान २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बिबि वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो। उसको लागि विजय चौधरीले अर्धशतक बनाउने क्रममा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए ।
शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६ रन तथा अमर सिंह रौटेलाले १० रन बनाए । बिबिसीसी किर्तिपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १ विकेट लिए ।
यस अघि शुक्रबारनै भएको चौथो क्वाटरफाइनलमा बिबिसीसी किर्तिपुरले एस एक्स्पर्टलाई ३२ रनले पराजित गरेको थियो ।