ढाका । साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गर्न रणनीति तयार बनाईसकेको नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।
माल्दिभ्ससंगको खेलअघि सोमबार बिहान नेपाली टोलीको अभ्यासको दौरान प्रशिक्षक महर्जनले बलियो टोली माल्दिभ्सलाई हराउन तयार रहेको बताए ।
प्रशिक्षक महर्जनले भने, 'धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौं । अब माल्दिभ्ससंग खेल्नु पर्नेछ । माल्दिभ्स राम्रो टिम हो । उनीहरुलाई कमजोर मान्नु हुन्न । उनीहरुको केहि खेलाडी महत्वपूर्ण छन् । तर, उनीहरुको दुई खेल हेरेको छु । त्यहि अनुसार रणनीति बनाएको छु । उनीहरुलाई हराउन मैले २-३ रणनीति बनाएको छु ।'
प्रशिक्षक महर्जनले नेपालले जारी प्रतियोगितामा गोल गर्न सफल भईरहेको समेत बताए । 'हामीले गोलको खडेरी तोड्न सफल भईरहेका छौ । यो हाम्रोलागि राम्रो पक्षमा हो । आशा छ माल्दिभ्सविरुद्धको खेल नेपालको पक्षमा आउनेछ, ' प्रशिक्षक महर्जनले थपे ।
साफको पहिलो सेमिफाइनलको रुपमा नेपालले बुधबार माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । साफमा नेपालले यो चौथोपटक सेमिफाइनलको यात्रा तय गरेको हो ।
बंगबन्धु रंगशालामा जारी च्याम्पियनसिपमा नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । माल्दिभ्स समूह 'बि' को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको हो । अर्को सेमिफाइनलमा भारतले पाकिस्तानको समान गर्नेछ ।
यस्तै प्रशिक्षण महर्जनले खेलाडीमा खेल भावना जागेको कारण माल्दिभ्सविरुद्ध खेल नेपालको लागि सहज हुने बताए ।
'राम्रो पक्ष नेपालको लागि धेरै समयपछि राम्रो भईरहेको छ । मेरो लागि र खेलाडीको लागि पनि,' प्रशिक्षक महर्जनले भने, 'अब नेपाली फुटबल अगाडी बढाउनु पर्छ भन्ने सबै खेलाडीमा भावना आएको छ, खेलाडीमा लगाब बढेको छ । हिजो जस्तो सुरुवाती ११ खेलाडीमा मात्र हैन सब्सिच्युड खेलाडीमा खेल भावना जागेको छ ।'
।