काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश नम्बर १ ले विभागीय टिम एपीएफलाई १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दाङ्गको लमहीमा प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो ।
निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १ सय ५ रन बनायो ।
ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको ईनिङ्समा काजोल श्रेष्ठले २९ रन बनाईन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाईन् ।
यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगिता राई २ रनमा अविजित रहिन् ।
एपीएफकी सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् । करुणा भण्डारीले १ विकेट हात पारिन् ।
विभागीय टिम एपीएफले सुदुरपश्चिम र प्रदेश नम्बर एकले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थियाे ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडी सम्मिलित एपीएफको कप्तानी सिता राना मगरले गरेकी छिन् । प्रदेश नम्बर एकको नेतृत्व राष्ट्रिय महिल टिमकी कप्तान रुबिना क्षेत्रीले गरेकी छिन् ।
एपीएफ र प्रदेश १ समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका थिए । दुवै टिम प्रतियोगिता अपराजित रहेका छन् ।
दुवै टिम फाईनल खेलमा जित निकाल्दै उपाधि जित्ने दाउमा छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालित प्रतियोगितामा ७ प्रदेश सहित १ विभागीय टिम सहभागी रहेका छन् ।