रिषभ फेरि घाइते

काठमाडौं। भारतीय विकेटकिपर ब्याटर रिषभ पन्त फेरि चोटका कारण मैदानबाहिरिएका छन्।
अन्तिम क्षणमा उनी न्यूजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय (ओडिआई) सिरिजबाट बाहिरिएका छन्। पन्तको स्थानमा टोलीमा ध्रुव जुरेललाई समावेश गरिएको छ।
बरौडा क्रिकेट एसोसिएसन स्टेडियममा अभ्यासका क्रममा ब्याटिङ गर्दै गर्दा पन्तले असहज महसुस गरेका थिए। त्यसपछि गरिएको एमआरआई परीक्षणमा उनको साइड स्ट्रेन भएको पुष्टि भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ।
चिकित्सक तथा विशेषज्ञहरूको सल्लाहपछि पन्तलाई सम्पूर्ण एकदिवसीय सिरिजबाट बाहिर राख्ने निर्णय गरिएको हो। हालै पन्त राम्रो फर्ममा थिए। उनले विजय हजारे ट्रफीमा दिल्ली टोलीको कप्तानी गरेका थिए र ६ इनिङ्समा दुई अर्धशतकसमेत प्रहार गरेका थिए।
पन्तको स्थानमा टोलीमा अवसर पाएका ध्रुवले अझै एकदिवसीय क्रिकेटमा डेब्यु गर्न बाँकी छ। पछिल्लो समय लिस्ट ‘ए’ क्रिकेटमा उनले प्रभावशाली प्रदर्शन गरेका छन्। उनका पछिल्ला सात इनिङ्समध्ये ६ पटक ५० भन्दा बढी रन बनाएका छन्, जसमा दुई शतक पनि समावेश छन्।
भारत र न्यूजिल्यान्डबीचको पहिलो एकदिवसीय खेल आइतबार दिउँसो सुरु हुनेछ।














