राजपुरको जितमा नारायण नायक

हिमालयन मनोज, धनगढी। नारायण जोशीको अलराउन्ड प्रदर्शनसँगै राजपुर स्पोर्ट्स क्लबले नवौं लिटिल फ्लावर प्राइड लिगमा विजयी सुरुआत गरेको छ।
आइतबार सम्पन्न समूह ‘ए’को खेलमा टिम बगैँचालाई ६ विकेटले पराजित गरेको हो। जितसँगै राजपुरले २ अंक जोड्यो।
बगैँचाले दिएको १२९ रनको लक्ष्य पछ्याएको राजपुरले १२ बल बाँकी रहँदै ४ विकेट गुमाएर १३४ रन बनायो।
राजपुरका नारायणले सर्वाधिक ३७ रन बनाए। २६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। नरेन भट्ट ३३, टेक रावल २० रनमा आउट हुँदा अभिषेक पाल र विशाल कुँवरले समान १५ रनको योगदान दिए।
बगैँचाका सुनील धमलाले सर्वाधिक २ विकेट लिए। आयुब चन्द्र र सुवोध ऐरले समान १ विकेट लिए।
त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बगैँचाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
बगैँचाका योगेश भट्टले सर्वाधिक २३ रन बनाए। २८ बल खेलेका उनले १ चौका प्रहार गरे। अविनाश सिंह २० रनमा आउट हुँदा शुवोध र सुनीलले समान १५ रनको योगदान दिए।
राजपुरका खग्रेन्द्र कुँवरले सर्वाधिक ३ विकेट लिए। सचिन भट्टले २ विकेट लिँदा नारायण जोशी, वसन्तसिंह कार्की र आयुष द्वारियाले समान १ विकेट राखे।















