ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा साविकको विजेता भारतले माल्दिभ्सलाई २ - ० गोल अन्तरले पराजित गरेको हो ।
बंगबन्धु रंगशालामा भारतलाई जित दिलाउन निखिल पुजारी र मानविर सिंहले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा पुजारीको गोलबाट भारतले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ४४ औं मिनेटमा सिंहले गोल गर्दै भारतलाई २ - ० को जित दिलाए ।
जितसंगै भारतले समूह 'बि' को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । भारतले दुई खेलबाट शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ ।
यो समूहबाट माल्दिभ्स उपविजेता बनेको छ । श्रीलंकासंग १ - १ अंक बराबरी भएपनि माल्दिभ्सले टसमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
अब सेमिफाइनलमा भारतले समूह 'ए' को समूह उपविजेता पाकिस्तान र माल्दिभ्सले समूह 'ए' विजेता नेपालसंग खेल्नेछ । सेमिफाइनलका दुवै खेल बुधबार हुनेछ ।
यो समूहमा माल्दिभ्स र श्रीलंका भारतसंग पराजित भएको थियो । तर, माल्दिभ्स र श्रीलंकाले भने गोलरहित बराबरी खेलेका थिए ।