काठमाडौं । चितवन क्रिकेट एसोसियसन बागमती प्रदेश क्रिकेट टिमकाे छनोट खेलको फाइनलमा प्रवेश गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिबार समूह चरणको अन्तिम खेलमा त्रिभुवन युनिभर्सिटीलाई ३ विकेटले पराजित गर्दै चितवन फाइनल पुगेको हो ।
टियुमाथिको जितसँगै चितवन समूह 'बी' को शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो ।
चितवनले २ खेलमा ४ अंक जोड्यो । चितवन अपराजित रह्यो ।
प्रतियोगिताको नियम अनुसार समूहको शीर्ष टोलीले फाइनलमा स्थान बनाउने छन् ।
यस समूहमा ललितपुर २ अंक जोडेर दोस्रो र टियु अंक विहीन रहेको छ ।
अब ललितपुर टियुले समूहको दोस्रो र तेस्रो स्थानको लागि खेल्नेछ ।
टियुले दिएको १ सय ४७ रनको लक्ष्य चितवनले ३५ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
चितवनको जितमा रोबिन शर्माले २८ रन जोड्दा भिकल कुमार गुप्ताले २२ रन बनाए ।
संघर्ष पौडेलले अविजित २० रन जोड्दा आकाश थापाले १९ रन जोडे ।
टियुका आयुस बानियाले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको टियुले ४० ओभरमा अलआउट हुँदै १ सय ४६ रन बनाएको थियो ।
टियुका पृथु बास्कोटाले २८ रन जोड्दा सुशान्त तिमल्सिनाले २१ रन बनाए । अर्चन भट्टले २० रन जोडे ।
चितवनका दिपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले २/२ विकेट लिए ।
अर्को खेलमा मकवानपुरले भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ ।