काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा मेलबर्न स्टार्सविरुद्ध २ विकेट लिएका छन् ।
होबर्ट हुरीकेन्सबाट यस सिजनको बिग बास खेलिरहेका सन्दीपले शनिबार मेलबर्नविरुद्ध २ विकेट लिएका हुन् ।
पूर्व क्लब मेलबर्नविरुद्ध सुरुवाती-११ मा पर्दै हुरीकेन्सका लागि डेब्यु गरेका सन्दीपले ४ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिएका हुन् ।
सन्दीपले मेलबर्नका हिल्टन कार्राटइट र बेन डुन्कलाई आउट गरेका थिए ।
सन्दीपको २ विकेटसँगै हुरीकेन्सले मेलबर्नलाई २१ रनले पराजित समेत गरेको छ ।
होबर्टमा हुरीकेन्सले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
मेलबर्नका लागि ग्लेन म्याक्स्वेलले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार जोगाउन सकेनन् ।
यस्तै साम रेइनबर्डले १५ तथा निकोलस पुरनले १४ रन बनाए ।
हुरीकेन्सका स्कोट बोलान्डले ३ विकेट लिए । सन्दीपसँगै नाथन एलिसले पनि २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हुरीकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
उसका लागि डाविड मालनले ७५ रनको अर्धशतकीय इनिङ्स खेल्दा बेन म्याकडेर्मोटले ३१ रन बनाए ।
कोलिन इन्ग्रामले २६ रन जोडे । मेलबर्नका बिलि स्टानलेकले ३ विकेट लिए ।
मेलबर्नलाई हराएसँगै हुरीकेन्सले ७ खेलमा १८ अंक जोडेको छ ।
हुरीकेन्स दोस्रो स्थानमा समेत उक्लिएको छ ।
मेलबर्नले ६ खेलमा ११ अंक जोडेको छ । मेलबर्न पाँचौं स्थानमा रहेको छ ।