ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
समूह 'बि' मा रहेको भारत र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा जारी छ । जारी खेलको पहिलो हाफमा भारतले माल्दिभ्सविरुद्ध २ - ० ले अग्रता बनाएको छ । भारतका लागि निखिल पुजारी र मानविर सिंहले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा पुजारीको गोलबाट अग्रता बनाएको भारतले ४४ औं मिनेटमा सिंहले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
साबिकको उपविजेता भारत र माल्दिभ्स जारी खेल जित्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
यस खेलपछि समूह 'बि' को विजेता र उपविजेता बन्ने टोलीको निर्णय हुनेछ ।
समूह 'बि' को विजेताले सेमिफाइनलमा पाकिस्तानसंग खेल्नेछ । यस्तै उपविजेताले समूह ए को विजेता नेपालसंग खेल्नेछ । यो नतिजा कायम रहे नेपालले सेमिफाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाउने छैन ।
तीन राष्ट्र रहेको समूह 'बि' मा ३ अंक जोडेको भारत शीर्ष स्थानमा छ । १ खेलबाट १ अंक जोडेको माल्दिभ्स दोस्रो र २ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा रहेको छ ।
पहिलो खेलमा भारतले श्रीलंकालाई हराएको थियो । यस्तै माल्दिभ्सले श्रीलंकासंग गोलरहित बराबरी खेलेको थियो ।