काठमाडौं । बागमती प्रदेश क्रिकेट टिमकाे छनोट खेलमा आदिल खानले दोहोरो शतक प्रहार गरेका छन् ।
काठमाडौंमा बिहिबार सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगिताका लागि बागमती प्रदेशकाे छनोटमा आदिले त्रिभुवन विश्वविद्यालयविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् ।
ललितपुरबाट खेलेका आदिलले १ सय २१ बलमा १६ चौका र १५ छक्का सहित २ सय १ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
ओपनर आदिलको विस्फोटक ब्याटिङको मद्दतले ललितपुरले त्रिवि टिमलाई ३ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
विशाल लक्ष्य पछ्याएको त्रिवि मात्र ८४ रन बनाउन सक्याे ।
त्रिविका कप्तान पृथु बास्कोटाले ४३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर जोड्न सकेनन् ।
ललितपुरका सीमित झाले ४ विकेट हात पारे । यस्तै तिलक राज भण्डारी र योनिस थापाले २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले ४० ओभरमा ४ विकेट गुमाएर ३ सय ७५ रन बनायो ।
आदिले दोहोरो शतक बनाउँदा आशुतोष घिरायले ५८ बलमा १२ चौका र ३ छक्का सहित ८३ रन जोडे । पहिलो विकेटका लागि आशुतोष र आदिलले १ सय ७४ रनको साझेदारी गरेका थिए । यस्तै दुर्गेश थापाले समेत ५३ रनको अर्धसतकीय पाली खेल ।
त्रिविका अभय घर्ती मगर र आयुष बानियाँले समान १-१ विकेट लिए ।
यस्तै बिहिबारनै भएकाे अर्को खेलमा काठमाडौंले भक्तपुरलाई ४ विकेटले पराजित गरेको छ ।
मुलपानीमा भएको खेलमा ९७ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।