काठमाडौँ । महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदुरपश्चिम प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।
समुह 'बी' अन्तर्गतको बिहिबार भएकाे आफ्नो अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
बाक्लो हुस्सुको कारण ११ ओभरमा छोट्याइएको खेलमा ७७ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले ४८ रन मात्र बनाउन सक्यो ।
सुमन खतिवडाले सर्वाधिक २७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
विन्दा कटवालले ७ रनको योगदान गर्दा ६ खेलाडी डक आउट भए।
सुदुरपश्चिमलाई सहज जित दिलाउन कविता जोशीले ह्याट्रिक विकेट लिइन् । उनले २ ओभरमा १० रन दिएर ५ विकेट हात पारिन् ।
यसअघि दाङको लमहीमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ले ११ ओभरमा ४ विकेट गुमाएर ७६ रन बनायो । डोली भट्टले आक्रामक २८ रनको अविजित पारी खेल्दा कविता कुँवरले अविजित १९ रन जोडिन् । कविता जोशीले १२ रनको योगदान गरिन् ।
बागमतीका आरती बिडारीले ३ विकेट हात पारिन् ।
यस्तै समुह चरणको अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशको सामना गर्दैछ ।
प्रदेश १ समुह चरणमा अपराजित रहँदै समुह विजेताका साथ सेमिफाइनलमा स्थान बनाउन चाहन्छ ।
गण्डकी प्रदेश भने दुवै खेलमा हार व्यहोर्दै पहिलो जितको खोजीमा रहेको छ । अन्तिम खेलमा जित निकाल्दै गण्डकी प्रतियाेगिताकाके सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।
समुह 'ए' बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् ।
समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
यस्तै, समुह बीमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।