ढाका । साफ च्याम्पियनसिप, बंगलादेश ढाका, बंगबन्धु रंगशाला ।
नेपालको समूह चरण नतिजा :
पहिलो खेल : पाकिस्तानसंग २ – १ को हार
दोस्रो खेल : भुटानमाथि ४ – ० को जित
तेस्रो खेल : बंगलादेशमाथि २ – ० को जित
सरसर्ती नतिजा हेर्दा नेपालले सहजै समूह चरण पार गरेको देखिन्छ । तर, बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न नेपालले कठिन चुनौती पार गर्यो ।
बंगलादेश उड्दै गर्दा नेपाली राष्ट्रिय फुटबल टोलीले लक्ष्य थियो - उपाधि जित्ने वा कम्तिमा सेमिफाइनल पुग्ने ।
सोचेजस्तो सधै हुँदैन । नेपालको लागि त्यहिँ नियम लागु भयो । अर्थात् उपाधि जित्ने लक्ष्य लिएको नेपाल पहिलो खेलमै स्तब्ध भयो । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल कमजोर मानिएको टोली पाकिस्तानसंग २ – १ ले हार्न पुग्यो ।
कप्तान विराज महर्जनले मोहमद रियाजलाई लडाएपछि ३६ औं मिनेटमा पाएको पेनाल्टीमा हसन नाविद बासिरले गोल गर्दै पाकिस्तानलाई सुरुवाती अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा विमल घर्ति मगरले चलाखीपूर्ण वान टच गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । तर, खेलको इन्जुरी समयमा मुहम्मद अलीले गोल गर्दै पाकिस्तानलाई २ – १ को जित दिलाए ।
पाकिस्तानको हारसंगै नेपाली टोली झस्कियो । सेमिफाइनलमा स्थान बनाउन नेपालको लागि पहिलो खेल निकै महत्वपूर्ण रहेको थियो । पहिलो खेलको हारसंगै उपाधि जित्ने लक्ष्य बोकेको नेपालको सेमिफाइनल नपुग्ने अवस्था सिर्जना हुन थाल्यो । किनकि नेपालको समूहमा घरेलु टोली बंगलादेश अर्को बलियो टोली थियो । नेपालको लागि भुटान सहज प्रतिद्वन्दी भएपनि भुटानले उच्च प्रदर्शन गर्दै आइरहेको थियो ।
पहिलो खेलमा हार बेहोरेपनि नेपाली टिम दोस्रो चरणमा पुग्नेमा आत्मविश्वासी भने थियो । पाकिस्तानसंगको खेलपछि प्रशिक्षक बाल गोपाल महर्जनले भनेका थिए, 'हामी दुई खेल जित्दै सेमिफाइनलमा पुग्छौ ।'
नभन्दै प्रशिक्षक महर्जनले भने जस्तै नेपालले दोस्रो खेलबाट लय समात्यो । नेपालले हतपत्त उत्कृष्ट पुनरागमन गरेको इतिहास छैन । तर, ढाकामा नेपालले उत्कृष्ट पुनरागमन गर्यो । नेपालको पुनरागमन साच्चै तारिफ योग्य थियो । उत्कृष्ट पुनरागमनसंगै प्रशिक्षक महर्जन साफमा नेपाललाई सेमिफाइनलमा पुर्राउने पहिलो नेपाली प्रशिक्षक समेत बने ।
दोस्रो खेलमा भुटानमाथि ४ – ० को जित निकाल्दै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको थियो । अनन्त तामाङ, सुनिल बल, भरत खवास र निराजन खड्काले गोल गर्दा भुटानविरुद्ध सहज जित निकाल्न सफल भयो । तर, नेपाललाई अन्तिम खेलमा जित्नैपर्ने दबाब रह्यो । किनकी बंगलादेशले दुई खेल जितिसकेको थियो । पाकिस्तान र नेपालले समान एक एक खेल जितेको थियो ।
समूह चरणको दुई खेल सकिदा नेपाल र पाकिस्तानले समान ३ – ३ अंक जोडेको थियो । बंगलादेशले ६ अंक जोडेको थियो । नेपाल र पाकिस्तानलाई सेमिफाइनलमा पुग्न शनिबार तय भएको अन्तिम खेल जित्नै पर्ने दबाब थियो ।
पाकिस्तानले भुटानलाई २ – ० ले हराएर सेमिफाइनल नजिक पुग्न सफल भयो । यता, नेपाललाई भने बंगलादेशविरुद्ध जित्नै पर्ने दबाब रह्यो । तर, नेपालले 'गर या मर' को खेलमा घरेलु टोली बंगलादेशलाई २ – ० ले हराएर सेमिफाइनलको यात्रा तय गर्यो ।
विमल घर्ति मगर र नवयुग श्रेष्ठको गोलसंगै नेपालले बंगलादेशलाई हराउन सफल भएको थियो । जितसंगै नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । सुरुवाती दुई खेल जितेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरियो ।
नेपाल, पाकिस्तान र बंगलादेशले समान ६/६ अंक जोडेपनि नेपाल गोल आधारमा अघि रह्यो । पाकिस्तान दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुग्यो । तर, बंगलादेश समूह चरणमै रोकियो ।
बंगलादेशलाई हराएसंगै नेपालले चौथो पटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । प्रशिक्षक महर्जनले भनेजस्तै पहिलो खेल गुमाएपनि त्यसपछिको लगातार दुई खेल जित्दै नेपालले सेमिफाइनल यात्रा तय गर्यो । र, नेपालको सेमिफाइनल यात्रामा कमजोरी सुधार र उत्कृष्ट पुनरागमन नै सबैभन्दा सबल पक्ष रह्यो ।
साफ फुटबलमा नेपालले पहिलो खेल गुमाएर पनि सेमिफाइनलमा स्थान बनाएको यो पहिलो अवसर हो । अघिल्ला चार संकरणमा सेमिफाइनल पुग्दा नेपालले पहिलो खेल गुमाएको थियो । तर, यस संस्करणमा सबै पोजिसनका खेलाडीले उच्च प्रदर्शन गर्दै नेपाललाई सेमिफाइनलको हकदार बनाउन सफल भयो ।
मुख्यतः नेपालको उत्कृष्ट पुनरागमनमा सधै कमजोर रहदै आएको पक्षहरुमा सुधार हुनु समेत रह्यो । सधै सुस्त देखिने नेपाली डिफेन्सलाइन दोस्रो खेलबाट सुधार भएको थियो । डिफेन्समा तालमेल नमिल्दा पाकिस्तानसंग उच्च प्रदर्शन गर्न नसकेको नेपालले दोस्रो खेलबाट लय समातेको थियो ।
यस्तै नेपालको मिडफिल्ड र फिनिसिङमा समेत सुधार भयो । विमल घर्ति मगर, भरत खवास, नवयुग श्रेष्ठ, सुनिल बल, निराजन खड्काले पाएको मौका खेर फालेनन् । नेपाली गोलकिपर किरण चेम्जोङले आफ्नो उच्च प्रदर्शनलाई कायम राख्न सफल भए ।
यसपटक मिडफिल्डमा नेपालको तालमेल उच्च देखिएको थियो । नेपालका स्टार मिडफिल्डर रोहित चन्दसंगै नवस्टार सुनिल बलले उत्कृष्ट प्लेमेकरको भूमिका खेलेका थिए ।
यो प्रदर्शन कायम राख्न सके नेपालले फाइनल यात्रा तय गर्ने पक्का जस्तैछ । तर, नेपालले सेमिफाइनलमा बलियो टोलीलाई प्रतिद्वन्दी पाउने पक्का छ । नेपालले समूह 'बि' को भारत, माल्दिभ्स र श्रीलंकामध्ये एक टोलीलाई प्रतिद्वन्द्वी पाउनेछ ।
नेपालले भारत र माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाउने सम्भावना बलियो छ । तर, दुई खेल गुमाईसकेको श्रीलंका प्रतिद्वन्दी पाउने सम्भावना गणितीय मात्र बाँकी छ ।