काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियाेगिता अन्तर्गत बागमती प्रदेशले पहिलो जित निकालेको छ ।
बुधबार भएको दोस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६६ रनले पराजित गरेको हो ।
दाङको लमहीमा १ सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश २० ओभरमा ५ विकेट गुमाएर मात्र ८८ रन बनायो ।
गण्डकीको लागि सृष्टी पौडेलले सर्वाधिक ३० रन बनाइन् ।
यस्तै, कप्तान शिला क्षेत्रीले २६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।
बागमतीकी निशा तामाङ, सुमन खतिवडा, आरती बिडारी र अश्मिना कर्माचार्यले समान १/१ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५३ रन बनायो ।
बागमतीकी बिन्दा कट्वालले सर्वाधिक ३८ रन बनाइन् । यस्तै, सुमन खतिवडाले ३१ तथा कञ्चन श्रेष्ठले २७ रनको याेगदान गरिन् ।
गण्डकीकी एलिशा लामिछानेले २ विकेट हात पारिन् ।
जितसँगै बागमतीले सेमिफाइनल यात्राको सम्भावना कायम राखेको छ । समूह चरणको पहिलो खेलमा बागमती प्रदेश पराजित बनेको थियो । प्रदेश नम्बर १ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको थियो ।
बुधबारनै भएको पहिलो खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा प्रदेश नम्बर १ ले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गरेको थियो ।
समुह बीबाट बिहीबार सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ ।
समुह 'ए' बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् ।
समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
यस्तै, समुह बीमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।