ढाका । बंगलादेशको ढाकामा जारी सुजुकी साफ च्याम्पियनसिपमा नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
पहिलो खेलमा पाकिस्तानसंग २-१ ले पराजित भएपनि दोस्रो खेलमा भुटानविरुद्ध ४-० र आयोजक राष्ट्र बंगलादेशविरुद्ध २-० को जित आत्मसातसहित नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो।
यस संस्करणमा तीन खेल खेल्ने क्रममा पछिल्लो दुई खेलमा उत्कृष्ट खेल पस्केको नेपाल र नेपाली खेलाडीहरुले केहि किर्तिमान कायम गर्न सफल भएका छन् ।
नेपालले साफको १२ औं संकरणमा के के कीर्तिमान बनाए ?
तीन कप्तान मैदानमा -
साफमा नेपालले पहिलो पटक तीन खेलमा तीन फरक कप्तानलाई कप्तानी दिएको थियो । एकै प्रतियोगितामा नेपालले तीन कप्तान मैदान उतारेको पहिलो अवसर हो ।
पहिलो खेलमा नियमित कप्तान विराज महर्जनलाई आर्म ब्याण्ड दिइएको थियो । तर, पहिलो खेलमा पाकिस्तानसंग पराजित नेपालले दोस्रो खेल भुटानविरुद्ध किरण चेम्जोङलाई कप्तानी दिएको थियो । यस्तै तेस्रो खेल बंगलादेशविरुद्ध नेपालले भरत खवासलाई कप्तानी दिएको थियो ।
सर्वाधिक गोल र गोल अन्तर -
नेपालले यसअघिका कुनैपनि साफ प्रतियोगितामा समूह चरणमा ५ भन्दा बढी गोल गर्न सकेको थिएन । यसपटक ३ खेल खेल्ने क्रममा नेपालले ७ गरेको छ भने १ गोल खाएको छ । पाँच गोलको गोल अन्तर पनि अहिलेसम्मकै सर्वाधिक हो ।
नेपालले समूह चरणमा एक गोल मात्र खाएको पनि यो पहिलो पटक हो । नेपालले भुटान विरुद्ध निकालेको ४-० को अन्तर नेपालको अहिलेसम्मकै सबैभन्दा फराकिलो गोल अन्तर हो ।
गोलको किर्तिमान -
विमल घर्तिमगरसमूह चरणमा दुई गोल गर्दै साफमा सर्वाधिक ४ गोल गर्ने नेपाली खेलाडीको सुचीमा परेका छन् । अनिल गुरुङ र जुमानु राईले यसअघि ४-४ गोल गरेका थिए । र, विमल दुवै खेलाडीलाई उछिन्ने तयारीमा रहेका छन् ।
नेपालका लागि भुटानविरुद्ध चार खेलाडीले गोल गरेका थिए । जुन एकै खेलमा चार फरक खेलाडीले गोल गरेको पनि पहिलो पटक हो । नेपालले ७ गोल गर्ने क्रममा पाँच फरक खेलाडीले गोल गरेका थिए । योपनि नयाँ इतिहास भएको छ। गोल गर्ने खेलाडीहरु विमल घर्तिमगर , अनन्त तामाङ्, सुनिल बल, भरत खवास , निराजन खड्का र नवयुग श्रेष्ठ रहेका छन् ।
सेमिफाइनल पुर्याउने पहिलो नेपाली प्रशिक्षक-
बंगलादेशविरुद्धको जितसंगै प्रशिक्षक बाल गोपाल महर्जन साफको सेमिफाइनल खेल्ने पहिलो नेपाली प्रशिक्षक बने । नेपालको साफमा यो चौथो सेमिफाइनल यात्रा हो । यस अघिको तीन संस्करणमा नेपाल विदेशी प्रशिक्षण रहदा सेमिफाइनलमा पुगेको थियो ।
यसअघि सन् १९९९मा टोर्टन फ्रांक स्प्लिटले गोवामा, सन् २०११ मा ग्राहम रोबर्ट्सले दिल्लीमा र सन् २०१३ ज्याक स्टेफ़ोनोस्किले काठमाडौँमा सेमिफाइनलसम्म पुर्याएका थिए ।
सर्वाधिक खेल खेल्ने खेलाडी विराज महर्जन-
कप्तान विराज महर्जनले राष्ट्रिय टिमबाट ६९ खेलको सर्वाधिक क्याप कायम गरेका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका विराजले यो कोसेढुंगा पार गरेका हुन् ।