काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियाेगितामा प्रदेश १ ले सुखद सुरुवात गरेको छ ।
मंगलबार भएकाे समुह बीकाे दाेस्राे खेलमा बागमती प्रदेशलाई ४६ रनले पराजित गर्दै प्रदेश १ ले प्रतियाेगिताकाे विजयी सुरुवात गरेकाे हाे ।
१ सय ७ रनको लक्ष्य पछ्याएको बागमती १६ ओभर ४ बलमा ६० रन बनाउँदा अलआउट भयो ।
कन्चन श्रेष्ठले १३ तथा सुमन खतिवडाले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।
प्रदेश १ की निग्मा तामाङले सर्वाधिक ३ तथा अप्सरी बेगमले २ विकेट लिइन् ।
यसअघि लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६ रन बनाएकाे थियो ।
कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ खेलेकी थिइन् । ५५ बलमा ६ चौका प्रहार गर्दै रुबिनाले ५६ रन बनाइन् ।
अप्सरी बेगमले १६ रनको अविजित पाली खेल्दा अन्य खेलाडी सस्तैमा पवेलियन फर्किए ।
बागमतीका आरती बिडारीले २ तथा अश्मिना कर्मचारी तथा कृष्मा गुरुङले समान १-१ विकेट हात पारे ।
प्रतियोगितामा आज (मंगलबार) बाट समुह 'बी' को खेलहरु सुरु भएको हो ।
मंगलबारनै समूह बीको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।
यसअघि समुह 'बी' बाट विभागीय टोली एपीएफ र लुम्बिनी सेमिफाइनल पुगिसकेका छन् ।