काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बंगलादेशविरुद्ध निर्णायक गोल गरेपछि स्ट्राइकर नवयुग श्रेष्ठले आफ्नो गोल सम्पूर्ण नेपाललाई समर्पण गर्ने बताएका छन् ।
बंगलादेशविरुद्धको जितमा नायक बनेका नवयुगले खेलपाटीसंग कुरा गर्दै आफ्नो गोल सारा नेपाललाई समर्पण गर्ने बताए ।
'धेरैपछि टिमका लागि गोल गर्दा खुशी छु,' खेलपाटीसंग नवयुगले भने, 'यो गोल सारा नेपाललाई समर्पण गर्न चाहान्छु ।'
नवयुगले राष्ट्रिय टोलीका लागि पछिल्लो पटक एएफसी एसियन कप छनोटमा यमनविरुद्ध गोल गरेका थिए । कतारको दोहामा गत मार्चमा भएको खेलमा नवयुगले हेड गोल गरेका थिए । उक्त खेल नेपालले २ - १ ले गुमाएको थियो । नवयुगले नेपालको लागि ६ गोल गरिसकेका छन् ।
यस्तै नवयुगले महत्वपूर्ण खेलमा गोल गर्दै नेपाललाई जित दिलाउन पाउदा धेरै खुसी भएको बताए ।
'हामीलाई बंगलादेशसंगको खेल महत्वपूर्ण थियो । गर या मरको अवस्था थियो,' नवयुगले भने, 'महत्वपूर्ण खेलमा सबैले मेहेनत गरेर खेल्यौ । जित निकाल्दा खुसी छु ।'
बंगबन्धु रंगशालामा शनिबार भएको समूह चरणको अन्तिम खेलमा नवयुगले बंगलादेशविरुद्ध ९० औं मिनेटमा गोल गरेका थिए । नवयुग भरत खवासको स्थानमा दोस्रो हाफमा मैदान छिरेका थिए ।
उक्त गोलसंगै नेपालले बंगलादेशलाई २ - ० ले हराएको थियो । त्यसअघि नेपालको लागि विमल घर्ति मगरले गोल गरेका थिए ।
खेलपछि नवयुगले थपे, 'सबैलाई देशको लागि गोल गर्न मन हुन्छ । लामो समयपछि गोल गर्न सफल भएको छु । धेरै खुसि छु ।'