ढाका । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ।
बंगबन्धु रंगशालामा नेपाललाई सुरुवाती अग्रता दिलाउन विमल घर्ति मगरले ३३ औं मिनेटमा अग्रता दिलाए । उनले प्रहार गरेको फ्रिकिक बंगलादेशका किपर साहीदुल इस्लामले समात्न खोज्दा गोलमा परिणत भएको थियो ।
विमलको यो गोलसंगै सन् २०११ को साफसंग तुलना हुन सुरु भएको छ । भारतको दिल्लीमा सम्पन्न उक्त साफमा तत्कालिन कप्तान सागर थापाले मध्ये भागबाट फ्रिकिकमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।
संयोग के भएको छ भने विमलले गरेको गोल र सागरले गरेको गोलको प्रकृति उस्तै छ । र, विमल र सागरले एकै किपर साहीदुल इस्लामविरुद्ध गोल गरेका हुन् ।
अहिले विमलको गोल र सागरको गोलमध्ये कुन उत्कृष्ट हो भन्ने चर्चा समेत सुरु भएको छ । त्यसबेला सागरले गोल गर्दै नेपाललाई जित दिलाएका थिए । जारी खेलमा विमलको गोलले नेपाल विजयी हुने सम्भावना बढेको छ । यस्तै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समेत उच्च भएको छ ।