एजेन्सी । भ्रमणकारी टिम भारतले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलियालाई पराजित गरेको छ ।
क्यानबेरामा बुधबार भएको खेलमा भारतले अष्ट्रेलियालाई १३ रनले पराजित गरेको हो ।
भारतले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ८९ रनमा समेटियो।
अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ७५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार जोगाउन सकेनन् ।
यस्तै ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए ।
एलेक्स केरीले ३८ रन जोड्दा एस्टन अगरले २८ रन बनाए ।
मोइस हेन्रिक्स २२ र क्यामरुन ग्रीन २१ रनमा आउट भए ।
भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । जस्प्रित बुम्राह र टी नटराजनले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।
भारतका लागि हार्दिक पाण्डयले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका अर्का खेलाडी रविन्द्र जडेजाले अविजित ६६ रन बनाए ।
यस्तै कप्तान विराट कोहलीले पनि ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यससँगै कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाए ।
कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पुरा गरेर कीर्तिमान बनाएका हुन् ।
कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । तेन्दुलकरले ३ सय इनिङ्समा १२ हजार रन पुरा गरेका थिए ।
कोहली एकदिवसीयमा १२ हजार रन पुरा गर्ने दोस्रो भारतीय र विश्वका छैटौं खेलाडी हुन् ।
त्यसबाहेक भारतका शुबमन गिलले ३३ रन जोड्दा श्रेयस एयरले १९ रन बनाए । शिखर धवन १६ रनमा आउट भए ।
अष्ट्रेलियाका एस्टन अगरले २ विकेट लिए । एडम जाम्पा, जोश हाजलवुड र सिन एब्बोटले १/१ विकेट लिए ।
अन्तिम खेलमा भारतसँग पराजित भएपनि तीन खेलको सिरिज अष्ट्रेलियाले २-१ ले जितेको छ ।
अब भारत र अष्ट्रेलियाबीच तीन खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।
पहिलो टी-ट्वान्टी शुक्रबार हुनेछ ।