ढाका । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (शनिबार) घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुका पौने ७ बजे हुनेछ । र,नेपालको लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।
समूह 'ए' मा रहेको नेपालको लागि बंगलादेशविरुद्धको खेल 'गर या मर' को अवस्था हुनेछ ।
नेपाल साफ जित्ने लक्ष्यसहित बंगलादेश आएको नेपालको सेमिफाइनल यात्रा यहिँ खेलले तय गर्नेछ । पहिलो खेलमा पाकिस्तानसंग पराजित नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
समूह चरणको दुई खेल सकिदा नेपाल र पाकिस्तानले समान ३/३ अंक जोडेको छ । बंगलादेशको २ खेलबाट ६ अंक रहदा भुटान अंकबिहिन रहेको छ । यस्तोमा बंगलादेश, पाकिस्तान र नेपालको दोस्रो चरण पुग्ने सम्भावना उत्तीकै छ । यद्दपी बंगलादेशलाई दोस्रो चरणमा पुग्न नेपालविरुद्धको खेलमा बराबरीले पुग्नेछ । भुटानको गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।
नेपालको लागि बंगलादेशसंगको खेलसंगै आजै हुने पाकिस्तान र भुटानबीचको खेल पनि महत्वपूर्ण हुनेछ । पाकिस्तान र भुटानले अपरान्ह पाउने ४ बजे प्रतिस्पर्धा गर्नेछन् ।
यदी भुटानको पक्षमा नतिजा आए नेपाललाई फाइदा हुनेछ । पाकिस्तानले जिते वा बराबरी भए नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब हुनेछ ।
'बंगलादेशविरुद्धको खेल महत्वपूर्ण छ तर, हाम्रो लागि त्यो भन्दा बढी महत्वपूर्ण पहिलो खेल रहेको छ, हामी पर्ख र हेरको स्थितिमा रहेका छौं,' बंगलादेशसंगको खेलअघि नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भने ।
अघिल्ला खेलको तुलना गर्दा भुटानले पाकिस्तानलाई हराउने सम्भावना न्यून रहेको छ । भुटान यस समूहमा निकै कमजोर देखिएको छ । तर, पहिलो खेलको नतिजा जस्तो आएपनि गोर्खाली टिम बंगलादेशलाई हराउने रणनीतिमा मैदान उत्रने सहायक प्रशिक्षक श्रेष्ठको दाबी छ ।
उनले भने, 'बंगलादेश पनि निकै राम्रो टिम हो । तर, हामी खेल जित्ने लक्ष्यमै खेल्नेछौ । हाम्रो टिम राम्रो छ । पहिलो र दोस्रो खेलको प्रदर्शनको आधारमा हाम्रो सम्भावना छ ।'
बिगत हेर्दा बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई कठिन चुनौती देखिन्छ । नेपाल र बंगलादेशबीच हालसम्म १८ खेल भएको छ । जसमा नेपालले मात्र ५ जित निकालेको छ । नेपालले १२ खेल गुमाउदा १ खेल बराबरी गरेको छ ।
यस्तै नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशसंग ६ खेल खेलिसकेको छ । साफको ६ भेटमा नेपालले ४ हार बेहोर्दा २ मात्र जित निकालेको छ । नेपालले ४ गोल गर्दा ७ गोल खाएको छ । नेपालले पछिल्लो पटक सन् २०१३ मा घरेलु मैदानमा भएको साफमा बंगलादेशसंग खेलेको थियो । दशरथ रंगशालामा भएको उक्त खेलमा नेपाल २ – ० ले विजयी भएको थियो ।
जारी प्रतियोगितामा बंगलादेशले जबरजस्त प्रदर्शन गरिरहेको छ । निकै चुस्त देखिएको बंगलादेशलाई घरेलु समर्थकको साथ समेत हुनेछ । तर, नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप पुरा गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल कप्तान विराज महर्जन नेपाली टोली कमजोर नरहेको दाबी गर्छन् ।
कप्तान महर्जनले भने, 'नेपाली टिम युवा छ । समर्पण भावले खेलेको छ । सामुहिक खेल प्रतिबद्धता छ । प्राविधिक रुपमा समेत क्रस, सुटिङ र वान टच राम्रो देखिएको छ । हामीले कुनैपनि हालतमा खेल जित्नैपर्नेछ । खेल जितेर सेमिफाईनल खेल्ने हाम्रो लक्ष्य छ ।'