ढाका । नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले ढाकामा जारी साफ च्याम्पियनसिपमा शनिबार हुने पाकिस्तान र भुटानबीचको खेल नेपालको लागि महत्वपूर्ण हुने बताएका छन् ।
नेपालको समूह समूह 'ए' मा रहेको पाकिस्तान र भुटानले शनिबार अपरान्ह प्रतिस्पर्धा गर्दैछ । शनिबार नै दोस्रो खेलमा नेपालले बेलुका बंगलादेशसंग खेल्दैछ ।
आयोजक बंगलादेशविरुद्धको खेलअघि शुक्रबार प्रिम्याच कन्फरेन्समा बोल्दै सहायक प्रशिक्षक श्रेष्ठले बंगलादेशसंगको खेलभन्दा नेपालको लागि पाकिस्तान र भुटानको खेल महत्वपूर्ण हुने बताए ।
'बंगलादेशविरुद्धको खेल महत्वपूर्ण छ तर, हाम्रो लागि त्यो भन्दा बढी महत्वपूर्ण पहिलो खेल रहेको छ, हामी पर्ख र हेरको स्थितिमा रहेका छौं ।' प्रशिक्षक श्रेष्ठले भने ।
बंगलादेश, पाकिस्तान र नेपालको दोस्रो चरण पुग्ने सम्भावना उत्तीकै रहेको बताउदै पहिलो खेलको नतिजाले नेपाललाई आवश्यक पर्ने नतिजाको तय हुने प्रशिक्षक श्रेष्ठले बताए ।
'भुटानले पाकिस्तानलाई हराउन सके बंगलादेशविरुद्ध बराबरी अथवा हार बेहोरेपनि गोल अन्तरमा नेपाल दोस्रो चरण पुग्नेछ,' सहायक प्रशिक्षक श्रेष्ठले भने, 'पाकिस्तानले भुटानले हराए नेपाललाई जितको विकल्प छैन ।'
समूह चरणको दुई खेल सकिदा नेपाल र पाकिस्तानले समान३/३ अंक जोडेको छ । बंगलादेशको २ खेलबाट ६ अंक रहदा भुटान अंकबिहिन रहेको छ । यस्तोमा बंगलादेशको सेमिफाइनल निश्चित जस्तै छ । नेपाल र पाकिस्तानमध्ये एक टोलीको दोस्रो चरण पुग्ने बढी सम्भावना छ । भुटानको गणितीय सम्भावना मात्र बाँकी रहेको छ ।
तर, सहायक प्रशिक्षक श्रेष्ठले पहिलो खेलको नतिजा जस्तो आएपनि नेपाल बंगलादेशलाई हराउने रणनीतिमा मैदान उत्रने बताए । उनले भने, 'बंगलादेश पनि निकै राम्रो टिम हो । तर, हामी खेल जित्ने लक्ष्यमै खेल्नेछौ । हाम्रो टिम राम्रो छ । पहिलो र दोस्रो खेलको प्रदर्शनको आधारमा हाम्रो सम्भावना छ ।'