ढाका । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले रणनीति सफल हुँदा भुटानलाई हराउन सफल भएको बताएका छन् ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो जित निकाल्ने क्रममा नेपालले भुटानलाई ४ - ० ले हराएको थियो । यो नेपालले भुटानलाई १२ औं पटक हराएको हो ।
जितपछि बोल्दै प्रशिक्षक महर्जनले आफुले बनाएको रणनीति सफल हुँदा भुटानलाई सहजै हराउन सफल भएको बताए ।
'जित्नै पर्ने अवस्था थियो, अघिल्लो खेलको गल्तीले यो खेल जित्नै पर्ने थियो,' प्रशिक्षक महर्जनले भने, 'भुटान विगतको भन्दा धेरै सुधार भएको टिमविरुद्ध कसरी गोल गर्ने र जित निकाल्ने रणनीति बनाएका थियौं, त्यसमा सफलता पाएका छौं । खुसी छौं खेलाडीले पनि राम्रो खेलेको छ ।'
यस्तै महर्जनले बंगलादेशविरुद्ध पनि नेपालले यस्तै प्रदर्शन गर्ने बताए । 'बंगलादेशविरुद्ध पनि त्यस्तै जित निकालेर अगाडी बढ्ने लक्ष्य छ,' प्रशिक्षक महर्जनले थपे ।
भुटानलाई हराएसंगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । समूह चरणको दोस्रो खेलपछि नेपालले ३ अंक जोडेको छ । नेपालले अब शनिबार बंगलादेशसंग खेल्नेछ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसंग २ - १ ले पराजित भएको थियो ।