काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले राष्ट्रिय टिमबाट धेरै म्याच खेल्ने कीर्तिमान कायम गरेका छन् ।
२७ बर्षका खेलाडी विराजले राष्ट्रिय टिमबाट ६९ खेलको सर्वाधिक क्याप कायम गरेका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका विराजले कोसेढुंगा पार गरेका हुन् ।
यसअघि, प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी राजुकाजी शाक्यको नाममा ६८ क्यापको कीर्तिमान रहेको थियो ।
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराटले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको साे मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
राष्ट्रिय टिमबाट विराजको नाममा एक गोल छ । सन् २०१० मा कीर्गिस्तानविरुद्ध उनले ४५ यार्ड टाढाबाट सुन्दर फ्रिकिक गोल गरेका थिए ।
राष्ट्रिय टिमको कप्तान रहेका विराजले पहिलो कप्तानीको रुपमा २०१५ को साफ च्याम्पियनसिपमा अवसर पाएका थिए । श्रीलंकाविरुद्ध नियमित कप्तान अनिल गुरुङ प्लेईङ सेटमा नपरेपछि उनले पहिलो पटक नेपाल राष्ट्रिय टिमको कप्तानी समाल्ने अबसर पाएका थिए । उनले प्राप्त अवसरलाई खेर फालेनन् र सफल पनि भए ।
विराज नेपाली फुटबलका सर्वाधिक सफल कप्तान हुन् । उनकै कप्तानीमा नेपालले लामो उपाधिको खडेरीलाई तोड्दै एकपछि अर्को सफलता हात पारेको थियो । २३ बर्षपछि अन्तराष्ट्रिय उपाधिको रुपमा बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र सागको स्वर्ण उनकै नेतृत्वमा नेपालले हात पारेको थियो ।