काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन आज एक कोसेढुंगा पार गर्ने संघारमा रहेका थिए ।
बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आज तय भएको भुटानविरुद्धको खेलमा मैदान उत्रन पाएको भए कप्तान विराजले एक इतिहास बनाउने थिए ।
विराजले भुटानविरुद्ध मैदान उत्रदै सर्वाधिक क्याप जित्ने नेपाली फुटबल खेलाडीको कीर्तिमान बनाउने थिए । विराजले प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी राजुकाजी शाक्यको नाममा ६८ क्यापको कीर्तिमान भंग गर्ने थिए ।
तर, भुटानविरुद्धको प्लेईङ सेटमा कप्तान विराज परेका छैनन् । र, विराजको प्लेईङ सेटमा पर्दै सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान पनि केहि पछाडी सरेको छ ।
अब विराजले सब्सिचुय्ड खेलाडीको रुपमा मैदान प्रवेश गर्दै सर्वाधिक बढी ६९ औं क्याप खेल्ने छन् । भुटानविरुद्ध मैदान उत्रन नपाए विराजले अर्को खेल कुर्नु पर्ने हुन्छ ।
साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार पाकिस्तानविरुद्ध खेल्दै विराजले पुर्व कप्तान राजुकाजी शाक्यसंगको ६८ औ क्यापको कीर्तिमान बराबर गरेका थिए ।
सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै विराटले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । पोखरामा भएको उक्त मैत्रीपूर्णमा खेलको ८९ औं मिनेटमा अन्जन केसीको स्थानमा मैदान प्रवेश गर्दै विराजले डेब्यु गरेका थिए ।
राष्ट्रिय टिमबाट विराजको नाममा एक गोल छ । सन् २०१० मा कीर्गिस्तानविरुद्ध उनले ४५ यार्ड टाढाबाट सुन्दर फ्रिकिक गोल गरेका थिए ।
राष्ट्रिय टिमको कप्तान रहेका विराजले पहिलो कप्तानीको रुपमा २०१५ को साफ च्याम्पियनसिपमा अवसर पाएका थिए । श्रीलंकाविरुद्ध नियमित कप्तान अनिल गुरुङ प्लेईङ सेटमा नपरेपछि उनले पहिलो पटक नेपाल राष्ट्रिय टिमको कप्तानी समाल्ने अबसर पाएका थिए । उनले प्राप्त अवसरलाई खेर फालेनन् र सफल पनि भए ।
विराज नेपाली फुटबलका सर्वाधिक सफल कप्तान हुन् । उनकै कप्तानीमा नेपालले लामो उपाधिको खडेरीलाई तोड्दै एकपछि अर्को सफलता हात पारेको थियो । २३ बर्षपछि अन्तराष्ट्रिय उपाधिको रुपमा बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र सागको स्वर्ण उनकै नेतृत्वमा नेपालले हात पारेको थियो ।
विराज काठमडौंको त्रिपुरेश्वरमा जन्मे । राजधानीका रैथाने उनी एन्फा एकेडेमीका दोस्रो ब्याचका खेलाडी हुन् । उनी नेपाली टिमका भरपर्दा डिफेन्डर हुन् । जो राइट ब्याकबाट खेल्छन् । तर, डिफेन्सको चारै भूमिकामा खेल्न सक्ने खुबी उनको छ ।