ढाका । साफ च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएपनि नेपाल सेमिफाइनलमा पुग्ने नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले बताएका छन् ।
ढाकास्थित बंगबंधु रंगशालामा मंगलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसंग २ - १ ले पराजित भएको थियो । तर, प्रशिक्षक महर्जनले दुई खेलमा जित निकाल्दै नेपाल दोस्रो चरणमा पुग्ने बताए ।
'खेलाडीको खेलबाट सन्तुष्ट रहेको छु । पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो भयो,' खेलपछि पोस्ट म्याच कन्फरेन्समा प्रशिक्षक महर्जनले भने, दोस्रो हाफको खेल दुई खेलमा दोहोराए हामी सेमिफाइनलमा पुग्नेछौ ।'
अब नेपालले बिहिबार भुटान र शनिबार आयोजक बंगलादेशसंग खेल्ने छ । सेमिफाइनलमा पुग्न नेपाललाई दुवै खेलमा जित निकाल्नु पर्ने हुन्छ ।
प्रशिक्षक महर्जनले अन्तिम समयमा गल्ती गर्दा पराजित भएको बताए । उनले भने, 'खेलमा गल्तिहरु हुन्छ । त्यसलाई सच्चाउदै जाने हो ,डिफेन्समा केहि गल्ति भएकै हो । त्यसलाई सुधार गर्ने छौ । हाम्रो सम्भावना अझै बाँकी छ ।'
यस्तै प्रशिक्षक महर्जनले डेब्यु खेलाडी सुमन अर्यालले निकै उत्कृष्ट प्रदर्शन गरेको बताए ।
त्यस्तै पाकिस्तानका मुख्य प्रशिक्षक जोसे नोगीईराले नेपालले राम्रो खेल खेलेको र आफुविरुद्ध कडा प्रतिस्पर्धा गरेको बताए ।