ढाका । साफ च्याम्पियनसिप, लक्ष्य उपाधि तर सुरुवात हारबाट ।
बंगलादेशको ढाकामा मंगलबार सुरु १२ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालको सुरुवात यस्तै रह्यो ।
बंगबन्धु रंगशालामा अन्तिम समय सम्हालिन नसक्दा नेपाल पाकिस्तानसंग २ – १ ले पराजित भयो ।
पाकिस्तानसंगको हारसंगै नेपालको सेमिफाइनल पुग्ने सपनामा धक्का लाग्यो । अर्थात्, उपाधि जित्ने नेपालको सपना एक कदम पछाडी हट्यो ।
करिब सयको हाराहारीमा रहेको नेपाली दर्शकसामु नेपालले उत्कृष्ट खेल्यो । तर, नेपालले आफ्नो परम्परा तोड्न सकेन् । दर्शकको मन जित्ने खेल खेलेको नेपालले उत्कृष्ट फिनिसिङ गर्न सकेन । डिफेन्स लाइन पुरानै लयमा देखियो ।
सुरुवाती मिनेटबाटै पाकिस्तानलाई दबाबमा राख्न सफल नेपाल पेनाल्टी गोलबाट पछि पर्यो । खेलको ३४ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्र मुहम्मद रियाजलाई ड्यास हान्दै लडाए ।
जोर्डनी रेफ्री हसनले विराजलाई पहेलो कार्डसहित पाकिस्तानलाई पेनाल्टीको मौका दियो । जसमा ३६ औं मिनेटमा हसन नाविद बासिरले सहजै गोल गर्दै पाकिस्तानलाई १ – ० को अग्रता दिलाए ।
दोस्रो हाफमा नेपाल खेलमा फर्कियो । नेपाललाई खेलमा फर्काउन नायक बने विमल घर्ति मगर । विमलले खेलको ८२ औं मिनेटमा चलाखीपूर्ण वान टच गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । विमल तिनै खेलाडी हुन जसको पाँच वर्षअघिको साफमा पाकिस्तानविरुद्ध गोल गर्दै साफ च्याम्पियनसिपमा डेब्यु गरेका थिए । विमलले गोल गरेपछि घरेलु मैदानमा सम्पन्न साफमा नेपालले पाकिस्तानसंग नै १ – १ गोलको बराबरी खेलेको थियो ।
त्यसअघि खेलको ७२ औं मिनेटमा पाकिस्तानी खेलाडी सादुल्लाहको उत्कृष्ट प्रहार पोस्ट बारमा लागेर फर्किदा नेपाल जोगिएको थियो ।
विमलको गोलबाट हौसिएको नेपालले त्यसपछि लगातार पाकिस्तानी पोष्टमा आक्रमण गर्न सफल भयो । खेलको अन्तिम समयमा अन्जन र सुजलले लगतार प्रहार गरेको बल पाकिस्तानी किपर युसुफले उत्कृष्ट बचाऊ गरे ।
तर, विमलको गोलमा रमाएको नेपाल अन्तत अन्तिम समयमा निराश बन्न पुग्यो । खराब डिफेन्सको सिकार बन्यो नेपाल । खेलको इन्जुरी समयको चौथो मिनेटमा मुहम्मद अलीले हेड गोल गर्दै पाकिस्तानलाई २ – १ को जित दिलाए ।
पाकिस्तानी फुटबलको लागि यो निकै ठुलो महत्व समेत रह्यो । फिफाबाट प्रतिबन्ध परेपछि पाकिस्तानको सिनियर टोलीको यो पुनरागमन खेल समेत हो । पाकिस्तानले एसियन गेम्समा यू-२३ टोली पठाएर फुटबलमा फर्किएको थियो ।
पाकिस्तानले हर्ष मनाईरहदा नेपालको लागि भने अन्तिम समय घातक बन्यो । पाकिस्तानी फरवार्डलाई मार्क गर्न नसक्नु नै नेपालको गल्ती देखियो । त्यहिँ गल्तीले नेपालको सेमिफाइनल प्रवेशमा समेत धक्का लागेको छ ।
अब नेपाललाई सेमिफाइनलमा पुग्न दुई खेल जित्नै पर्ने दबाब बढेको छ । नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशसंग खेल्नेछ ।