काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको कोरोना परिक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।
आईतबार गरिएको परिक्षणमा अध्यक्ष चन्दको कोरोना रिपोर्ट फेरी पनि पोजेटिभ आएको हो ।
कोरोनाको संक्रमण देखिएपनि चन्द करिब १६ दिनदेखि एकान्तवासमा रहेका छन् ।
चितवनको सौराहमा असोज ६ गते क्यानको बोर्ड बैठक सम्पन्न गरेर चन्द काठमाडौं आएका थिए । स्वास्थ्यमा समस्या देखिएपनि उनले कोरोना परिक्षण गराएका थिए ।
सो क्रममा उनलाई कोरोनाको संक्रमण देखिएको हो । त्यसपछि उनी एकान्तवासमा रहेका छन् ।
तर संक्रमण भएको दुई हप्तापछि गरिएको परिक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको हो ।
‘रिपोर्ट पुन पोजेटिभ आएको छ । तर निको हुने क्रममा छ ।’ क्यान स्रोतले खेलपाटीसंग भन्यो, ‘डक्टरले अरुलाई सर्दैन र निको हुने क्रममा छ भनेका छन् ।’
क्यानको बोर्ड बैठकबाट फर्किएपछि अध्यक्ष चन्द र सचिव अशोक नाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएको होे । सचिव प्याकुरेल भने काठमाडौंको ओम अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई आईसीयूमा समेत राखिएको थियो । तर उनको अहिलेको अवस्था सामान्य छ । उनलाई ‘जनरल वार्ड’मा सारिएको छ ।
अध्यक्ष र सचिवको स्वास्थ्य अवस्थाको कारण देखाउँदै क्यानले असोज २८ गतेका लागि तोकेको साधारण सभा तत्काललाई स्थगित गरेको छ ।
क्यानले मंसिर १५ गतेभित्र सक्ने गरि साधारण सभा तत्काललाई स्थगित गरेको हो । क्यानले दशैं र तिहारको बीचमा साधारण सभा राख्ने योजना बनाएको छ ।