एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहीबार) सनराइजर्स हैदराबाद र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा हैदराबाद र पन्जाब आफ्नो छैटौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद तेस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला पाँच खेलमा हैदराबादले ३ हार र दुई जित निकालेको थियो ।
हैदराबाद ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । तर, पन्जाबलाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ ।
केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब भने दोस्रो जितको खोजीमा हुनेछ । पन्जाबले खेलेका ५ खेलमा मात्र १ जित निकालेको छ ।
पन्जाब २ अंक जोडेर पुछारमा रहेको छ । तर, हैदराबादलाई हराएर पन्जाब पनि अंक तालिका सुधार गर्न चाहन्छ ।
दुई टिमबीचको पछिल्लो पाँच भेटमा हैदराबाद बलियो देखिएको छ । गत सिजन भएको दुई भेटमा दुबै टोलीले एक एक जित निकालेका थिए ।
हैदराबादले पन्जाबविरुद्ध वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी मैदान उतार्ने छन् ।
पन्जाबसँग राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरण, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडीको साथ रहनेछ ।