काठमाडौं । सन् १९९९ को समयमा एक फुटबलरको नाम नेपाली फुटबलमा गुञ्जिन पुग्यो । उनि थिए, नरेश जोशी । जसले त्यो बर्ष भएको साफ च्याम्पियनसिपमा तहल्का मच्चाएका थिए ।
सन् १९९९ को साफ अगाडी २४ वर्षे नरेशलाई सायदै नेपाल बाहिर कसैले चिन्थे । तर,उनले श्रीलंकाविरुद्ध बेजोडको प्रर्दशन गरे । सोही प्रदर्शनका आधारमा उनले आजको दिनसम्म नेपाली फुटबलको स्टार खेलाडीको छबि कायम राख्न सफल भएका छन् ।
नरेशले सो खेलमा ह्याट्रिक गरेका थिए, श्रीलंकाविरुद्ध । जुन नेपालका लागि साफ च्याम्पियनसिपमा एक्लो ह्याट्रिक हो ।
सन् १९९७ को काठमाडौँमा भएको साफमा डेब्यु गर्दा खेलको १२ मिनेटमै प्रशिक्षकले उनलाई मैदान बाहिर पठाएका थिए ।
नेपालका लागि यु १६ र यु १९ मा प्रतिनिधित्व गरेका आफ्ना ठुला दाजु सिजेसलाई आदर्श र प्रेरणाको स्रोत मान्ने नरेशले सो खेलको स्मरण गर्दै भन्छन्, ‘खै त्यो खेलमा के भयो, मलाई थाहा छैन । सायद प्रशिक्षकसंग त्यसको जवाफ हुनसक्छ ।’
गोवा साफको दौरान नरेश निकै लय देखिन्थे । परिपक्क खेलाडी जस्ता । हिरोको जस्तो रुपरंग, डिफेन्स तोड्ने बेजोड क्षमता, सटिक पास र गोलकालागि गहन नोट उनका बिशेषता थिए ।
अर्को कुरा, उनीसंग कमर्सको डिग्री थियो । सायदै अहिलेपनि धेरै राष्ट्रिय फुटबल टोलीका खेलाडीको औपचारिक डिग्रीको सर्टिफिगेट औलामा गन्न सकिन्छ ।
साफको पहिलो संस्करणदेखि सहभागि नेपालले सन् १९९९ मा श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । त्यही समयदेखि नेपाललाई विपक्षी राष्ट्रले सदाबहार उपाधिको दाबेदार मान्न थालेको । नेपालले श्रीलंकालाई हराएको त्यो नै पहिलो पटक थियो ।
सेमिफाइनलमा बंगलादेशसंग २–० ले पराजित भएपनि नरेशले श्रीलंकाविरुद्ध गरेको ह्याट्रिक नेपालका लागि सम्झन लायक रह्यो । उनले सर्वाधिक गोलकर्ताको रुपमा प्रतियोगिताको अन्त्य गरेका थिए ।
करियरको निकै कम समय राष्ट्रिय टोलीमा बिताएका नरेशले सन् २००० मा कुवेतमा भएको एसियन कपको छनोटपछि फुटबलबाट बिदा लिने निर्णय गरे ।
नेपालले छनोटको ४ खेलमा ३ गोल गरेको थियो । पहिलो गोल उनै नरेशले गरेका थिए ।
कर्मले नरेशलाई अहिले बाहिर डोर्राएको छ । तर उनी नेपाली फुटबल हेर्न भने छाडेका छैनन् । उनी नेपाली फुटबल हेर्छन् र नेपाली टिमले गरेको प्रर्दशनबाट सन्तोष मान्छन् ।
‘नेपाली टिम राम्रो भएको छ । एशियन गेम्समा जापानसंग धेरै राम्रो खेल्यो ।’ हाल जापानमा रहेका नरेशले भने, ‘जापानसंगको प्रर्दशनले नेपाली फुटबलबाट धेरै आश गर्ने ठाउँ छ ।’
अन्तिममा साफका एक्ला ह्याट्रिक हिरो आफ्ना गोललाई कसरी सम्झन्छन् त ?
‘त्यो स्तरमा ह्याट्रिक गर्दा निकै बिशेष लागेको थियो । त्यसपछि खासै भएन ।’ उनी सिधा जवाफ दिन्छन् ।
नरेश नेपालले खेल्न गईरहेको साफबाट निकै आशावादी छन् ।
‘नेपालले साफमा उत्कृष्ट प्रर्दशन गर्छ भन्ने आश लागेको छ ।’ उनी भन्छन् ।