राजबिराज । क्रिकेटर पवन दास कोरोना भाईरसबाट मुक्त भएका छन् ।
उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गरिसकेका क्रिकेटर पवन करिब तीन सातापछि कोरोना मुक्त भएका हुन् ।
पवनलाई गत साउन १६ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि उनी होम आईसोलेसनमा रहेका थिए ।
बिहीबार गरिएको परिक्षणमा उनको कोरोना रिर्पोट नेगेटिभ आएको थियो । पवनसँगै कोरोना संक्रमित भएका उनका बुवा,आमा तथा छोरा र छोरीको रिर्पोट समेत नेगेटिभ आएको छ ।
पवनले सन २००२ मा यू-१५ र सन २००४ मा यू-१७ को राष्ट्रिय टिमबाट खेलेका थिए । बायाँ हाते ओपनिङ ब्याट्सम्यान पवनले यू-१५ को एसिया कपमा टेस्ट राष्ट्र बंगलादेशविरुद्ध ६२ रन बनाएका थिए । उनले सोहि प्रतियोगितामा भारतविरुद्ध २९ रन बनाएका थिए ।
नेपाल त्यस प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा नेपाल पाकिस्तानसँग २७ रनले पराजित भएको थियो ।
उत्कृष्ट प्रदर्शन गरेका कारण पवन यू-१५ एसिया कपको ड्रिम टिममा समेत परेका थिए । प्रतियोगितामा उनले ८ खेलमा कुल २०९ रन बनाएका थिए। दाससहित राज श्रेष्ठ, पारस खड्का र शरद भेषवाकर ड्रिम टिममा पर्न सफल भएका थिए ।