एजेन्सी । भारतका भेट्रान स्पिनर प्रविन ताम्बे क्यारिबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा डेब्यु गर्ने सर्वाधिक पाको उमेरका खेलाडी बनेका छन् ।
ट्रिनबागो नाइट राइडर्सका ४८ वर्षे ताम्बे सेन्ट लुसिया जुक्सविरुद्ध मैदान उत्रदै सीपीएलमा डेब्यु गरेका थिए ।
डेब्यु खेलमा ताम्बेले मेडन विकेट समेत हात पार्न सफल भए ।
यस्तै ताम्बे सीपीएल खेल्ने पहिलो भारतीय खेलाडी समेत बनेका छन् ।
यस अघि भारतीय यु-१९ क्रिकेट खेलेका सन्नी सोहलले सन् २०१८ मा सीपीएल खेलेका थिए । तर, उनी अमेरिकाको नागरिकको रुपमा सीपीएलमा आबद्द भएका थिए ।
भारतीय क्रिकेट बोर्डको नियम अनुसार कुनै पनि भारतीय खेलाडीले घरेलु क्रिकेटबाट सन्यास नलिएसम्म विदेशी लिग खेल्न पाउने छैनन् ।
भारतीय क्रिकेट बोर्डले ताम्बेलाई १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न प्रतिबन्ध गरेपछी ताम्बेले सीपीएलको लागि ड्राफ्टमा नाम दर्ता गरेका थिए ।
ताम्बेले बोर्डको अनुमती बिना दुबईमा भएको टी-१० लिगमा सहभागिता जनाएपछी उनलाई आईपीएल खेल्न प्रतिबन्ध गरिएको थियो ।