एजेन्सी । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा तेस्रो हार ब्यहोरेको छ ।
ट्रिनिडाड एण्ड टोबेगामा बुधबार राति जमैका आफ्नो पाँचौ खेलमा बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित बनेको हो ।
सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो ।
केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाएपनि अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक-एक विकेट हात पारे ।
सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए ।
सन्दीपले सीपीएलको उत्कृष्ट प्रर्दशन जारी छ । उनले हरेक खेलमा किफायती बलिङ गर्दै विकेट हात पारिरहेका छन् ।
१ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । नक्रमा बोनरले बनाएको ३१ रन सर्वाधिक स्कोर रह्यो । सन्दीप ४ रनमा नटआउट रहे ।
सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक जोडेको छ । उसले २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ ।
जमैका तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । जित सहित बार्बाडोस ४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।