काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिनियर राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीको कोरोना बीमा गरेको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै १८ महिला खेलाडीको कोरोना बीमा गरिएको जनाएको छ ।
'नेपाल क्रिकेट संघले दोस्रो चरणमा १८ सिनियर राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ,' विज्ञप्तिमा भनिएको छ ।
बीमा गरिएको खेलाडीको नामावली भने क्यानले सार्वजनिक गरेको छैन ।
क्यानले यस अघि पुरुषका २३ खेलाडीसहित ग्राउण्ड स्टाफ र क्यान अफिसका कर्मचारीसहित ५१ जनाको कोरोना बीमा गरेको थियो ।
यस्तै क्यानले दोस्रो चरणमा महिला खेलाडीको बीमा गरिने जनाएको थियो ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा समेत वृद्धि हुँदै गएपछि क्यानले खेलाडी र कर्मचारीको बीमा गरेको हो ।
कोरोनाको कारण लामो समयबाट क्रिकेट खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् ।
यस्तै कोरोनाको संक्रमण बढेपछि राष्ट्रिय खेलकुद परिसद (राखेप) ले सम्पूर्ण खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरिसकेको छ ।