एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले बलिङ प्रशिक्षकमा रायन ह्यारिसलाई नियुक्त गरेको छ ।
पूर्व अष्ट्रेलियन फास्ट बलर ह्यारिसलाई दिल्लीले जेम्स होप्सको स्थानमा बलिङ प्रशिक्षक नियुक्त गरेको हो ।
विगत दुई वर्ष देखि दिल्लीको बलिङ प्रशिक्षक रहेका होप्सले यस संस्करणमा व्यक्तिगत कारण देखाउँदै टिमसँग सामेल हुन नसक्ने जनाएका थिए ।
'आईपीएलमा फर्कन पाउदा निकै खुशी छु,' प्रशिक्षक ह्यारिसले भने, 'टिमको उपाधि उचाल्ने लक्ष्य भेट्टाउन सहयोग गर्ने यो मेरो लागि अवसर हो । दिल्लीमा राम्रो बलिङ लाइनअप छ, उनीहरुसँग काम गर्न आतुर छु ।'
ह्यारिसले सन् २००९ देखि २०१५ सम्म अष्ट्रेलियाको लागि २७ टेष्ट, २१ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस्तै उनले १ सय ६१ अन्तराष्ट्रिय विकेट लिन सफल छन् ।
४० वर्षीय ह्यारिसले ३७ आईपीएल खेल समेत खेलेका छन् जसमा ४५ विकेट लिन सफल छन् । यस्तै उनले सन् २००९मा डेकन चार्जर्सबाट आईपीएल उपाधि समेत उचालेका थिए ।
नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने समेत दिल्लीमा आबद्द छन् । सन्दीपले लगातार तेस्रो पटक आईपीएलमा दिल्लीबाट आईपीएल खेल्न लागेका हुन् ।
१३ औं संस्करणको आईपीएल यही सेप्टेम्बर १९ बाट सुरु हुँदैछ । कोरोना भाईरसको महामारीको कारण भारतमा आयोजना सम्भव नभएपछी प्रतियोगिता दुबईमा आयोजना हुँदैछ ।