एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) राति चौंथो खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले चौंथो खेलमा गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र वारियर्सबीचको खेल नेपाली समय अनुसार बिहानको राति ३:१५ बजे सुरु हुनेछ ।
क्विन्स पार्क ओभलमा वारियर्सविरुद्ध मैदान उत्रदा जमैका दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो ।
पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेट र तेस्रो खेलमा वारियर्ससँगै १४ रनले पराजित भएको थियो ।
तर, दोस्रो भेटमा भने जमैका वारियर्सलाई हराउने लक्ष्यसहित मैदान उत्रनेछ । जमैका ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
वारियर्स भने तेस्रो जितको खोजीमा हुनेछ । चार खेलमा ४ अंक जोडेको वारियर्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।
सन्दीप वारियर्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । किनकि सन्दीपले अघिल्ला तीन खेलमा लगातार विकेट हात पार्न सफल भईरहेका छन् ।
सन्दीपले आइतबार वारियर्सविरुद्ध ८ रन खर्चिएर २ विकेट लिएका थिए । त्यसअघि पहिलो र दोस्रो खेलमा १/१ विकेट हात पारेका थिए ।
सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेलिरहेका हुन् । यसअघिको दुई संस्करणमा समेत सन्दीपले सीपीएल खेलिसकेका छन् ।
जमैकाबाट भने सन्दीप पहिलोपटक खेलिरहेका हुन् । जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।