एजेन्सी । घरेलु टिम इंग्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्टमा पाकिस्तान फलो अनमा परेको छ ।
साउथह्याम्पटनको द रोज बलमा टेस्टको तेस्रो दिन आइतबार पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको हो ।
अजहर अलीले अविजित रहदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तानलाई फलो अनमा पठाएको हो ।
खराब प्रकाशको कारण तेस्रो दिनको खेल सकिदा इंग्ल्यान्ड ३ सय १० रनले अघि रहेको छ । सोमबार पाकिस्तानले दोस्रो इनिङ्स थाल्नेछ ।
पहिलो इनिङ्समा खराब प्रदर्शन गरेको पाकिस्तान अलीको शतकसँगै सम्मान जनक स्थितिमा पुगेको हो ।
अलीको शतकबाहेक पाकिस्तानका मोहम्मद रिजवानले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । फावद आलमले २१ तथा यासिर शाहले २० रन बनाए ।
इंग्ल्यान्डका जेम्स एण्डरसनले ५ विकेट लिए । स्टुवार्ड ब्रोडले २ तथा क्रिस वोक्स र डम बेसले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो ।
क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।
यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेले । त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे । कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।
पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिए ।
दुई टिमबीचको यस टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ । तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।