एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान जहिर अब्बास 'आईसीसी हल अफ फेम' मा समावेश भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार लिजेण्ड अब्बासलाई 'आईसीसी हल अफ फेम' मा समावेश गरेको हो ।
रन मेसिनको उपनामले चिनिने अब्बासले पाकिस्तानका लागि ७८ टेस्टमा ५ हजार ६२ रन बनाएका थिए । यस्तै ६२ एकदिवसीयमा २ हजार ५ सय ७२ रन बनाएका थिए ।
एसियन ब्राडम्यानको उपनाम समेत पाएका ७३ वर्षीय अब्बास लगातार तीन एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी हुन् ।
अब्बाससँगै दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर ज्याक कालिस पनि आईसीसी हल अफ फेममा समावेश भएका छन् ।
४४ वर्षीय अलराउण्डर कालिसले दक्षिण अफ्रीकाबाट १ सय ६६ टेस्टमा १३ हजार २ सय ८९ रन बनाएका थिए । यस्तै एकदिवसीयमा २ सय २८ खेलमा ११ हजार ५ सय ७९ रन बनाएका थिए ।
उनले टेस्टमा २ सय ९२ र एकदिवसीयमा २ सय ७३ विकेट समेत लिएका थिए ।
यस्तै अष्ट्रेलिया महिला क्रिकेट टिमकी पूर्व खेलाडी लिसा स्थलेकरलाई पनि आईसीसीले हल अफ फेममा समावेश गरेको छ ।