एजेन्सी । अफगानिस्तान युवा लेग स्पिनर राशिद खानले टी-ट्वान्टी क्रिकेटमा सबैभन्दा छोटो र कम उमेरमा ३ सय विकेट हात पार्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
वेष्ट इण्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोउक्सविरूद्ध विकेट हात पार्दै राशिदले टी-ट्वान्टी क्रिकेटमा कीर्तिमान बनाएका हुन् ।
बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिरहेका २१ वर्षे राशिदले सेन्ट लुसियाविरुद्ध २ विकेट लिएका थिए । र, टी-ट्वान्टी क्रिकेटमा आफ्नो ३ सय विकेट पुरा गरेका थिए ।
राशिदले २ विकेट हात पारेपनि टिमलाई जित दिलाउन भने सकेनन् । उनको टिम ७ विकेटले पराजित भएको थियो ।
राशिद विश्वभरका थुप्रै टी-ट्वान्टी प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । उनले छोटो समयमा आफूलाई विश्वको उत्कृष्ट बलरको रुपमा स्थापित गराएका छन् ।
राशिदले सन् २०१५ मा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । राशिद टी-ट्वान्टीको बलिङ वरीयताको शीर्ष स्थानमा समेत रहेका छन् ।
सीपीएलमा राशिदले २ खेलमा १२ दशमलव ७५ को औषतमा ४ विकेट हात पारेका छन् ।