एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार बलिङ प्रर्दशन गरेपनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा जमैकाले लगातार दोस्रो हार ब्यहोरेको छ ।
शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित बनेको हो ।
१ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो ।
उसका आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । सन्दीप लामिछाने ३ बल खेल्दै शुन्य रनमा आउट भए ।
सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनाएको थियो ।
गुएनाका ब्रान्डन किंगले सर्वाधिक २९ रन बनाएपनि अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेका थिएनन् ।
नेपालका सन्दीपले किफायती बलिङ प्रर्दशन गर्दै दुई विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन् ।
उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।
जमैकाले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ । उसले तीन खेलमा मात्र २ अंक बटुल्दै तालिकाको पुछारदेखि दोस्रोमा छ ।
सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेल्दैछन् । कोरोना महामारीका कारण सीपीएलका खेल बन्द रंगशालामा सञ्चालन भईरहेको छ ।