एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) राति तेस्रो खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले तेस्रो खेलमा गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र गुएनाबीचको खेल नेपाली समय अनुसार राति १२ बजे सुरु हुनेछ ।
वारियर्सविरुद्ध मैदान उत्रदा जमैका दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
वारियर्स समेत दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ट्रिनबागोसँग ४ विकेटले पराजित भएको वारियर्स दोस्रो खेलमा सेन्ट लुसिया जोउक्सलाई ३ विकेटले हराएको थियो ।
जमैका २ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । सामान खेलमा सामान अंक जोडेको वारियर्स दोस्रो स्थानमा रहेको छ ।
सन्दीप गुएनाविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।
पहिलो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चिएर १ विकेट लिएका थिए ।
सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर १ विकेट हात पारेका थिए ।
सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेलिरहेका हुन् । यसअघिको दुई संस्करणमा समेत सन्दीपले सीपीएल खेलिसकेका छन् ।
जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।
कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा भईरहेको छ ।