एजेन्सी । पाकिस्तान क्रिकेट टिमका ब्याट्सम्यान बाबर आजम क्रिकेटको तीन वटै फर्म्याटको ब्याटिङ वरीयताको शीर्ष पाँचमा रहने एक्लो ब्याट्सम्यान बनेका छन् ।
टेस्ट ब्याटिङ वरीयताको पाँचौं स्थानमा उक्लिएसँगै आजम तीनै वटै फर्म्याटको वरीयताको शीर्ष पाँचमा रहने एक्लो ब्याट्सम्यान बनेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको टेस्टको नयाँ वरीयतामा आजम छैटौं स्थानबाट पाँचौं स्थानमा उक्लिएका थिए ।
आजम एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेका छन् भने टी-ट्वान्टीतर्फ शीर्ष स्थानमा छन् ।
यस्तै आईसीसीले सार्वजनिक गरेको टेस्ट ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा अष्ट्रेलियाका स्टिभ स्मिथ यथावत रहेका छन् ।
ब्याटिङतर्फ भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली दोस्रो स्थानमा यथावत रहेका छन् ।
यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा यथावत रहदा न्युजिल्याण्डका केन विलियम्सन चौंथो स्थानमा रहेका छन् ।
बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत रहदा इंग्ल्यान्डका स्टुवार्ट ब्रोड दोस्रो स्थानमा उक्लिएका छन् ।
यस्तै न्युजिल्यान्डका निल वाग्नेर तेस्रो स्थान, न्युजिल्यान्डका टिम साउथी चौंथो र वेष्ट इन्डिजका जासन होल्डर पाँचौं स्थानमा रहेका छन् ।
अलराउन्डरतर्फ इंग्ल्यान्डका बेन स्टोक्स शीर्ष स्थानमा यथावत रहेका छन् ।
वेष्ट इन्डिजका कप्तान जासन होल्डर दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो, न्युजिल्यान्डका मिचेल स्टार्क चौंथो र भारतका रविचन्द्र आश्विन पाँचौ स्थानमा रहेका छन् ।
टेस्ट राष्ट्रको वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा न्युजिल्यान्ड र तेस्रोमा भारत रहेका छन् । इंग्ल्यान्ड चौंथो र श्रीलंका पाँचौं स्थानमा छन् ।