एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को मुख्य प्रायोजकको घोषणा गरिएको छ ।
चीनियाँ कम्पनी भिभो यस सिजनको प्रतियोगिताबाट बाहिरिएसंगै ड्रिम ११ लाई आईपीएलको मुख्य प्रायोजकको रुपमा छनोट गरिएको हो ।
ड्रिम ११ ले २ सय ५० करोड भारतीय रुपैयाँमा आईपीएलको प्रायोजन अधिकार खरिद गरेको छ ।
चीनियाँ कम्पनी भिभोले एक सिजनको ४ सय ४० करोड भारतीय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । भिभोले दिदै आएको रुपैयाँ भन्दा नयाँ प्रयोजकको रुपमा ड्रिम ११ ले १ सय ९० करोड भारतीय रुपैयाँ कम दिनेछ ।
ड्रिम ११ फेन्टासी स्पोटर््स प्लेटफर्म हो । भारतमा आधारित यसका प्रयोगकर्ताले फेन्टासी क्रिकेट, हकी, फुटबल, कबड्डी र बास्केटबल खेल्न सक्छन् ।
मुख्य प्रायोजकको होडमा टाटा समूह समेत सहभागी थियो । आईपीएलको आयोजना सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब ईमिरेट्स (यूएई)मा सञ्चालन हुदैछ ।
आईपीएलको मुख्य प्रायोजकको दौडमा अनएकेडेमी, टाटा र बायजू समेत सहभागी थिए । अनएकेडेमीले २ सय १० करोड रुपैयाँको प्रस्ताव गरेको थियो । टाटाले १ सय ८० करोड र बायजूले १ सय २५ करोडको प्रस्ताव गरेको थियो ।
चीनसंग बढ्दो तनावका कारण आईपीएलको आयोजक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भिभोलाई यस सिजनको प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेको थियो ।
भिभोले सन् २०१८ देखि २०२२ सम्म ५ बर्षसम्म २ हजार १ सय ९ करोड रुपैयाँ (प्रत्येक सिजनको ४ सय ४० करोड)मा आईपीएलको मुख्य प्रायोजन अधिकार किनेको थियो ।
आईपीएल २०२० सेप्टेम्बरबाट सुरु भएर ५३ दिन चल्नेछ । आईपीएलको फाईनल खेल नोभेम्बर १० मा हुनेछ ।
बीसीसीआईका अनुसार आईपीएलमा एक दिनमा दुई खेल राखिनेछ । यसपटक आईपीएल बेलुका साढे ७ बजे सुरु हुनेछ । यसअघि आईपीएल राति ८ बजे सुरु हुने कार्यक्रम रहेको थियो ।