एजेन्सी । पाकिस्तानका पूर्व बलर शोयब अख्तरले भारतीय प्रधानमन्त्रीले महेन्द्र सिंह धोनीलाई घरेलु मैदानमा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेट खेल्न अनुरोध गर्न सक्ने बताएका छन् ।
भारतका पूर्व कप्तान धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।
तर, एक युटुब च्यानलको अन्तर्वार्तामा पाकिस्तानी पूर्व फास्ट बलर अख्तरले धोनीलाई विश्वकप खेल्न प्रधानमन्त्रीले अनुरोध गर्ने दाबी गरेका हुन् ।
यस्तै अख्तरले भारतमा २०२१ मा हुने विश्वकप खेल्न धोनीलाई सबैको सहयोग मिल्ने भएपनि उनले व्यक्तिगत कारणले सन्यास लिएको बताए ।
'मलाई लाग्छ कि उसले टी- ट्वान्टी खेल्न सक्थ्यो । उसले विश्वकप खेल्न सक्थ्यो । भारतको समर्थकहरुले उनलाई एक ताराको रुपमा प्रेम गर्छन । तर, यो उनको व्यक्तिगत निर्णय हो,' अख्तरले भने ।
सन् २००४ मा भारतको टिममा डेब्यु गरेका धोनीले कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका थिए ।
यस्तै भारतले च्याम्पियन्स ट्रफी जित्दा धोनी टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।
तर, ३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।
विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक इंग्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।
यस्तै अख्तरले धोनीले क्रिकेट करियरमा सबै प्राप्त गरेको समेत बताए । उनले भारतले धोनीको लागि विदाई खेल राख्ने समेत बताए ।
'राँचीको एक व्यक्तिले भारतलाई हल्लायो । उसले सबै जित्यो । अब के चाहिन्छ र,' अख्तरले भने, 'भारत उसलाई विदाई खेल दिन तयार हुनेछ । यदी उसले चाहेन भने फरक कुरा हो ।'
धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए । जसमा १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए ।
धोनीले भारतका लागि ३ सय ५० एकदिवसीय, ९० टेस्ट र ९८ टी-ट्वान्टी खेलेका छन् ।
भारतका लेजेण्ड क्रिकेट मध्येका एक धोनीले टेस्टमा ४ हजार ८ सय ७६ रन बनाएका थिए ।
यस्तै एकदिवसीयमा १० हजार ७ सय ७७ रन बनाउँदा टी-ट्वान्टीमा १६ सय १७ रन बनाएका थिए ।