काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट आज (मंगलबार) बाट सुरु हुँदैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा हुने सीपीएलको पहिलो खेलमा ट्रीनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
पहिलो दिन नै हुने अर्को खेलमा बार्बाडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल राति सवा ३ बजे शुरु हुनेछ ।
कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा दर्शक विना हुनेछ । यस्तै खेलाडी र आयोजकले सरकारको कोभिड-१९ गाइडलाइन पालना गर्नु पर्नेछ ।
आगामी सेप्टम्बर १० सम्म चल्ने प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।
यो सीपीएलमा सन्दीपको अहिलेसम्म कै सर्वाधिक महँगो मूल्य हो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।
सन्दीपको टिम जमैकाको खेल भने बुधबार रहेको छ । जमैकाले सेन्ट जोउक्ससँग खेल्नेछ । उक्त खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
यस वर्ष क्रिस गेलले भने सीपीएल खेल्ने छैनन् । यस वर्ष सेन्ट जोउक्समा अनुबन्धित भएका गेलले परिवारलाई समय दिन भन्दै सीपीएलबाट नाम फिर्ता लिएका थिए ।